STC 810x100 adv
Swasthya Mantralaya

कीर्तिपुर नगरपालिका ३ वडाद्वारा लघु चलचित्र “कीर्तिमान” निर्माण गरिने, नगर प्रमुख तथा उपप्रमुखद्वारा शुभ–साईत

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ७, मंगलबार

कीर्तिपुर/कीर्तिपुर नगरपालिका २ वडा कार्यालयका लागि कीर्तिपुर मिडिया हाउसद्वारा ‘कीर्तिमान’ नामक लघु चलचित्र निर्माण गरिने भएको छ ।

कीर्तिपुरका शिक्षाविद् जुजुभाई महर्जनको कथा रहेको ज्येष्ठ नागरिकहरुमा समर्पित यथार्थ कथामा आधारित उक्त लघु चलचित्र ‘कीर्तिमान’को परिकल्पनाकार संचारकर्मी ज्ञानकुमार महर्जनको रहेको छ  भने छायाँकारको रुपमा कीर्तिपुरकै सक्रिय संचारकर्मी प्रताप महर्जन रहनुभएको छ ।

नेपालभाषा एवं खस नेपाली भाषाको करिब दुई दर्जन जति म्यूजिक भिडियो एवं नेपाल भाषाको चलचित्र ‘भौमचा’ (बुहारी)को निर्देशन गरिसकेका कीर्तिपुरकै संचारकर्मी ललेन्द्र  शाक्यको निर्देशन रहने लघु चलचित्र ‘कीर्तिमान’को शुभ–साईत कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन तथा उप प्रमुख सरस्वती रिजाल खड्काले मंसीर ३ गते शुक्रबार एक समारोहका बीच कीर्तिपुर नगरपालिका ३ वडा भवन प्रांगणमा गर्नुभएको थियो ।

ज्येष्ठ नागरिक समर्पित यथार्थ कथामा आधारित ‘कीर्तिमान’ लघु चलचित्र शुभ–साईत कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमेश महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख सरस्वती रिजाल खड्का लगायत कीर्तिपुर नगरपालिका १ वडाका वडाध्यक्ष हर्ष महर्जन, २ वडाका वडाध्यक्ष रमेशमान डंगोलका साथ कार्यक्रम आयोजक कीर्तिपुर नगरपालिका ३ वडाका वडाध्यक्ष राजेन्द्र महर्जनको उपस्थिति रहेको थियो ।

कीर्तिपुर नगरपालिका ३ वडाले जनप्रतिनिधिको आगमन पछि प्रत्येक वर्ष आफ्नो वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई विभिन्न स्थानमा देश दर्शन भ्रमण गराउँदै आइरहेको छ भने यस वर्ष पनि मंसीर ३ गतेदेखि ५ गतेसम्म लुम्बिनी र भारतको गोरखपुरस्थित गोरखनाथ दर्शन भ्रमणको आयोजना गरेको थियो । यही ज्येष्ठ नागरिक देश दर्शन भ्रमणको अवसर पारी मंसीर ३ गते शुक्रबार विहान ६ बजे  उक्त भ्रमणको शुभयात्राको शुभकामनासहित पूर्णरुपमा ज्येष्ठ नागरिक समर्पित यथार्थ लघु चलचित्र ‘कीर्तिमान’को पनि शुभ–साईतको कार्यक्रम आयोजना गरेका हुन् कीर्तिपुर नगरपालिका ३ वडाबाट ।

३ वडाका वडा सचिव काजिराम मालाकारले संचालन गर्नुभएको  ज्येष्ठ नागरिक देश दर्शन भ्रमण तथा लघु चलचित्र ‘कीर्तिमान’को शुभ–साईत कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले हाम्रा ज्येष्ठ नागरिक भनेको भगवानको दोस्रो रुप भएको धारणा राख्दै देश दर्शन भ्रमणको शुभयात्रा व्यक्त गर्नुभई ‘कीर्तिमान’ लघु चलचित्रको सफलताको कामना गर्नुभयो । साथै नगर प्रमुख महर्जनले चलचित्र निर्माण समूहलाई हौसला प्रदान गर्नुहुँदै शुभकामना व्यक्त गर्दै कीर्तिपुर नगरपालिका र समग्र कीर्तिपुरको लागि ‘कीर्तिमान’ लघु चलचित्र ऐतिहासिक दस्तावेज हुनेमा दुइमत नहुने धारणा राख्नुभयो ।

यस्तै, विशेष अतिथि कीर्तिपुर नगरपालिका उपप्रमुख एवं प्रवक्ता सरस्वती रिजाल खड्काले ज्येष्ठ नागरिकको सम्मान नै भगवानको पूजा गर्नु सरहको धर्म भन्नुहुँदै ज्येष्ठ नागरिक देश दर्शन भ्रमण सफल होस् भनी कामना गर्नुभयो । उहाँले ‘कीर्तिमान’ लघु चलचित्रको सफलताको कामना गर्दै चाँडै हेर्ने अवसर मिलोस् भनी चलचित्र निर्माण समूहलाई  शुभकामना दिनुभयो ।

यस्तै, आयोजक कीर्तिपुर नगरपालिका ३ वडाध्यक्ष राजेन्द्र महर्जनले वडामा जनप्रतिनिधि हरुको आगमन पछि प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरुलाई विभिन्न स्थानहरुमा देश दर्शन भ्रमणका कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आइरहेको र हालको देश दर्शन भ्रमण पाँचौं पटकको भ्रमण भएको जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुको देश दर्शन भ्रमणको अवसरमा ज्येष्ठ नाागरिकहरुमा समर्पित यथार्थ लघु चलचित्र ‘कीर्तिमान’ आफ्नो वडाबाट निर्माण गर्न पाउँदा खुशी व्यक्त गर्दै यो ‘कीर्तिमान’ लघु चलचित्र ऐतिहासिक हुने बताउनु हुँदै औपचारिक कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रम पश्चात् देश दर्शन भ्रमणमा सहभागी ज्येष्ठ  नागरिकहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर, विशेष अतिथि उपमेयर तथा वडाध्यक्षहरुले भ्रमणका लागि चाहिने विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्दै शुभयात्रा शुभकामनासहित भ्रमणलाई बिदाई गरेका थिए ।

Categorized in साहित्य-कला
kmc sujib