STC 810x100 adv
Swasthya Mantralaya

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाबीच सम्झौता, अब कीर्तिपुरका जनसमुदायलाई निःशुल्क रगत वितरण हुने

Janjati Khabar – Lalendra Shakya | २०७८ मङ्सिर ७, मंगलबार

कीर्तिपुर/कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा शुलभ र निःशुल्क रक्तसंचार सेवाको लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाबीच हातेमालो कार्यक्रम भएको छ ।

कीर्तिपुर १० वडास्थित होटल हिलसाइडमा सोमबार साँझ उक्त कार्यक्रम भएको थियो । उक्त हातेमालो कार्यक्रममा आपतकालीन समयमा कीर्तिपुर नगरबासीका लागि निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यका साथ कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सोमबार सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा कीर्तिपुर नगरपालिकाको तर्फबाट मेयर रमेश महर्जन तथा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट अध्यक्ष डा. नेत्रप्रसाद तिमिल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा केन्द्रीय रक्तसंचार केन्द्रका नायव निर्देशक डा. प्रकाशकुमार यादवले रगत भनेका ‘लाइफ सेभिङ ड्रग्स’ भएको जानकारी दिदैं रक्तसंचार सेवा र रक्तदानको विषयमा जानकारीमूलक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

मेयर रमेश महर्जन तथा उपमेयर सरस्वती रिजाल खड्कालाई नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिमिल्सिनाले रेडक्रस क्याप प्रदान गर्दै शुभारम्भ भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. तिमिल्सिनाले शुलभ र निःशुल्क रक्तसंचार सेवाका लागि कीर्तिपुर नगरपालिकासंगको हात्तेमालो काठमाडौं उपत्यकामैं पालिकासंगको पहिलो सहकार्य भएको खुलासा गर्नुभएको थियो ।

उहाँले रक्तसंचार वितरण प्रणालीमा नेपालमा मात्रै नभई विश्वका अनेक राष्ट्रहरुमा पनि समस्या भएको सुनाउँनु हुँदै उक्त रक्तसंचार वितरण प्रणालीलाई व्यवस्थित गर्नकै निमित्त कीर्तिपुर नगरपालिकासंगको हात्तेमालो तथा सम्झौतामा हस्ताक्षर गरेको विचार व्यक्त गर्नुभयो । यो हात्तेमालो र सम्झौता पछि कीर्तिपुरबासीले आपतकालीन समयमा निःशुल्क रगत पूर्ति गर्न सकिने जानकारी डा. तिमिल्सिनाले दिनुभयो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाकी उपमेयर एवं प्रवक्ता सरस्वती रिजाल खड्काले नेपाल रेडक्रस सोसाइटी र कीर्तिपुर नगरपालिकाबीचको सहकार्यले रक्तसंचार सेवामा नगरबासीलाई प्रभावकारी लाभ मिल्ने विश्वास राख्दै कीर्तिपुरमा ब्लड बैंक नै स्थापना गर्नसके रक्तसंचार वितरण प्रणाली झन् मजबूत हुने पक्षलाई जोड दिनुभयो ।

यस्तै, कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले रेडक्रस सोसाइटीसंग नगरपालिकाको सम्झौता एवं हात्तेमालोबाट कीर्तिपुरका जनतालाई निःशुल्क रगत वितरण गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा सभापतित्व आसन ग्रहण गर्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले २०४६ सालको सेरोफेरोमा कीनपा १ वडामा रहेको थाँबहाः ल्यायम्ह पुचःले आफ्नो अध्यक्षताकालमा कीर्तिपुरको विभिन्न स्थानमा रक्तदान कार्यक्रमको स्मरण गर्नुभएको थियो । उहाँले कीर्तिपुर नगरपालिकामा आफू प्रमुख भई आइसकेपछि रेडक्रस भवनको लागि शिलान्यास समेत गरेको तर एक व्यक्तिको विरोधबाट मुद्दामा अल्झिन पुगी हालसम्म पनि रेडक्रस भवन ओझेलमा परेको स्मरण पनि गर्नुभयो । मेयर महर्जनले आपतकालीन समय २०७२ सालको भुकम्प पछिको समयमा कीर्तिपुर नगरपालिकाले नेपाल रेडक्रससंगको सहकार्यमा धेरै उपलब्धिमूलक सामाजिक सेवाका कार्यहरु गरेको जानकारी पनि दिनुभयो । उहाँले अबका दिनहरुमा कीर्तिपुर बासिन्दालाई भैपरि आउने समयमा रगतको अभाव हुन नदिने प्रण पनि गर्नुभयो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिका १० वडाका वडाध्यक्ष अमन महर्जनदेखि रेडक्रसका विभिन्न उच्च पदाधिकारीहरुले आ–आफ्ना धारणा राखेको थियो भने उक्त कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु ९ वडाका वडाध्यक्ष गंगाराम महर्जन, १ वडाका वडाध्यक्ष हर्ष महर्जन, ३ वडाका वडाध्यक्ष राजेन्द्र महर्जन, ६ वडाका वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन तथा नगरपालिकाका विभिन्न शाखा अधिकृत प्रमुखहरु एवं रेडक्रसका विभिन्न ओहोदाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

हात्तेमालो एवं दुईपक्षीय सम्झौता हस्ताक्षर कार्यक्रममा १८ देखि ६५ वर्ष उमेर समूह रक्तदाता भएको र रक्तदान गर्न ४५ केजी तौल हुनुपर्ने तथा रक्तदान प्रत्येक ३/३ महिनामा गर्नसक्ने जानकारीका साथ नेपालमा ९७ प्रतिशत पुरुषले र ३ प्रतिशत महिलाले रक्तदान गरेको तथ्यांक सार्वजनिक गरेको थियो ।

Categorized in उपत्यका
kmc sujib