STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर नगरपालिकाको आकस्मिक कोष गठन

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २, मंगलबार

ललेन्द्र शाक्य

कीर्तिपुर– कोरोना भाइरस कोभिड–१९ महामारीको समय संसार नै त्रासमा परी महामारीको भयावह परिस्थितिसँग संघर्ष गरिरहेको छ भने यस संघर्षमा नेपाल पनि परेको छ । यही भाइरस संक्रमण रोकथामको लागि नेपाल सरकारले देशभरि लकडाउन घोषणा गरेको छ भने विभिन्न क्षेत्रमा राहत वितरणको कार्यक्रम पनि संचालन गरेको छ । यसैक्रममा कीर्तिपुर नगरपालिकाले पनि नगरबासीलाई राहत वितरण थालेको छ । कीर्तिपुर नगरपालिकाका अति विपन्न परिवारलाई राहत वितरण गर्न अहिले कीर्तिपुर नगरपालिकाले आकस्मिक कोष गठन गरेको छ । काठमाडौंको टेकु शाखाको राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको उक्त आकस्मिक कोष खाता नम्बर १७००३०४०३८३०३ रहेको छ । कीर्तिपुर नगरपालिकाले त्यस आकस्मिक कोषमा सहयोग गर्न सार्वजनिक आह्वान पनि गरेको छ । सहयोगकै क्रममा उक्त आकस्मिक कोषमा कीर्तिपुर नगरपालिका २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका पर्यटन सम्पदा विभागका प्रमुख तथा २ वडा देवध्वाखा गुम्बाका सचिव रमेशमान डंगोलको सक्रियतामा उक्त गुम्बाको स्याङ्पा फाउण्डेशनका स्याङ्पा रिम्पोछेबाट ५ लाख रुपैयाँको सहयोग कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई हस्तान्तरण गरेको छ । कीर्तिपुर नगरपालिकाले गठन गरेको उक्त आकस्मिक कोषमा कीर्तिपुर २ वडामा रहेको गुम्बाको स्याङ्पा फाउण्डेशनबाट ५ लाख नगदसँगै कीर्तिपुरको ससः दि नेवाः रेष्टुरेन्टबाट ५० हजार, दिपक पाण्डेबाट २५ हजार १०१ नगद, बैकुण्ठप्रसाद शर्मा अधिकारीबाट १० हजार १५५ नगद, नेपाल एपिएफका कृष्ण थापाबाट १० हजार १०५, सुरश सिंह त्यालँबाट १० हजार, बास निर्माण सेवा प्रा.लि.बाट १० हजार, आकर्षण प्रधानबाट ५ हजार र उत्थानशील नेपालबाट ५ हजार गरी अहिलेसम्म जम्मा ६ लाख २५ हजार रकम संकलन भइसकेको कीर्तिपुर नगरपालिकाले जनाएको छ । विश्वभरि महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड १९ को कारण समस्यामा परेका कीर्तिपुर नगरभित्रका असंगठित क्षेत्रमा कार्यरत श्रमिकवर्ग एवं असहायको दैनिक जीवनयापनको लागि राहत वितरण गर्न चैत २१ गते नगरपालिकाका मेयर रमेश महर्जनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त आकस्मिक कोष गठन गर्ने निर्णय गरेको थियो । नगरपालिकाले ५० लाख रुपैयाँ राखेर खोलिएको उक्त कोषमा नगरपालिकाबाट सम्पूर्ण सहयोगीलाई सहयोगको लागि सार्वजनिक रुपमा अनुरोध गरेको छ भने उक्त अनुरोधअनुसार हालसम्म ९ वटा संघसंस्था एवं व्यक्तिबाट नगद र जिन्सी सामग्री सहयोग प्राप्त भएको छ । उक्त आकस्मिक कोषमा ६ लाख २५ हजार ३६१ नगद जम्मा भई जम्मा ५५ लाख ७५ हजार ३६१ रुपैयाँ जम्मा भएको छ भने वडा कार्यालयबाट नगपालिकाले गत चैत २७ गतेदेखि राहत वितरणसमेत गरिसकेको र उक्त राहत सामग्री खरिदको लागि कोषबाट ५१ लाख ९ हजार ४४४ रुपैयाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।
Categorized in उपत्यका