STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरमा ‘होम स्टे’, सम्भव छ र ?

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २२, बुधबार

जनप्रतिनिधिहरुको आवागमनपछि कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिदेखि लिएर कर्मचारीहरु कीर्तिपुरमा ‘होम स्टे’ संचालन गर्ने मैदानमा सक्रियरुपमा दौडधूप गरिरहेका छन् । कीर्तिपुरको लागि सकारात्मक पाईलाको रुपमा लिन सकिन्छ यो दौडधूपलाई ।

कीर्तिपुर नगरपालिकाको संयोजनमा कीर्तिपुरमा ‘होम स्टे’ संचालनको लागि चित्लाङ, दामन, पालुङदेखि लिएर विभिन्न क्षेत्रमा भ्रमण तथा विभिन्न कार्यशाला गोष्ठी, सेमिनार इत्यादी कार्यक्रमहरु संचालन भइसकेको छ । साथै उक्त क्षेत्रका मेयर, उपमेयरदेखि लिएर सम्बन्धित विज्ञहरुबाट राय, सल्लाह सुझाब पनि कीर्तिपुर नगरपालिकाले लिइसकेको अवस्था छ । के अब कीर्तिपुरमा ‘होम स्टे’ सम्भव छ र ? भन्ने विषयमा यहाँका जनसमुदायभित्र चासोको विषय बनेको छ ।

कीर्तिपुर क्षेत्रभित्रका होटल व्यवसायी, पर्यटन क्षेत्रका हस्तीहरु सम्मिलित भई ‘होम स्टे’को लागि तयारी गरिरहेको छ र केही ‘होम स्टे’को रुपमा स्थापित पनि भइसकेको अवस्था छ कीर्तिपुरमा । यो पक्षलाई सकारात्मक रुपमा लिन सकिन्छ । साथै कीर्तिपुर नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, वडासदस्यदेखि कर्मचारी तथा विभिन्न संघसंस्थाका व्यक्तित्वहरु कीर्तिपुरमा ‘होम स्टे’ संचालन गर्ने नै पक्षमा जुझारुकताकासाथ लागिपरेका छन् ।

कीर्तिपुरका कुनै कुनै सचेत नागरिकहरु भन्ने गर्छन् कि ‘होम स्टे’ संचालनमा ल्याउनु राम्रो पक्ष हो । पर्यटन क्षेत्रदेखि लिएर आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासको लागि ‘होम स्टे’ एक खाँचो र आवश्यकताको विषय हो । तर, ‘होम स्टे’ संचालनमा एक आधिकारिक नेतृत्वदायी भूमिका निर्वाह नगरपालिकाले गर्छ या स्वयं ‘होम स्टे’ संचालक व्यक्तिहरुले ?

जति पनि ‘होम स्टे’ संचालनमा आउँछ, त्यसलाई आधिकारिक रुपमा नेतृत्वदायी संस्था भएन भने र ‘होम स्टे’ संचालकको आधिकारिकता मात्र रह्यो भने ‘होम स्टे’ संचालनबाट कीर्तिपुरमा यौनजन्य क्रियाकलापदेखि विभिन्न नकारात्मक असरहरु सिर्जना हुनेछ भन्ने पक्ष विचारहरु पनि अहिले सक्रिय रुपमा चर्चा परिचर्चा हुने गरेको छ कीर्तिपुरमा ।

अहिले नगरपालिका प्रारम्भिक चरणमा पाईला टेक्दैछन् ‘होम स्टे’ संचालनको लागि । नगरपालिकाले अब जनसमुदाय सामू सार्वजनिक रुपमा विभिन्न सार्वजनिक स्थलहरुमा जनचेतना र ‘होम स्टे’को अवधारणा, परिचय र आवश्यकता सम्बन्ति सर्वसाधारणहरुलाई बुझाउने खालका कार्यक्रमहरुको आयोजना गर्दै जानुपर्ने अवस्था सिर्जित भइसकेको छ । जनताहरुमाझ पनि ‘होम स्टे’ के हो भन्ने बुझाउने तर्फ नगरपालिका लाग्नुपर्ने अवस्था आइसकेको छ ।

साथै ‘होम स्टे’ संचालनको लागि भौतिक, सामाजिक, व्यवहारिक इत्यादी पक्ष र संरचना एवं पूर्वाधारहरु कीर्तिपुरमा छन् कि छैनन् भन्ने विषयमा पनि ‘होम स्टे’ संचालन गर्ने अभियन्ताहरु, कीर्तिपुर नगरपालिकादेखि विभिन्न संघसंस्थाहरुले जनसमुदायसंग हात्तेमालो गर्दै ब्यापक रुपमा छलफल गर्दै जानुपर्ने अवस्था छ अहिलेको समयमा । यस विषयमा कमी कमजोरीहरु के के छन् ? सकारात्मक र नकारात्मक पक्षहरु के के छन् ? समाधानको बाटो के हो ? इत्यादी यी सब विषयमा जनसमुदायसंग सहकार्य भएको खण्डमा मात्र सायद कीर्तिपुरमा ‘होम स्टे’ संचालनमा सफलता मिल्नेछ भन्नेतिर सचेत नागरिकहरुको धारणा तरंगित भइरहेका छन् ।

वास्तवमा ‘होम स्टे’ नगर, गाउँ विकासको लागि अपरिहार्य छ । आर्थिक समृद्धि, पर्यटन विकास, सामाजिक सांस्कृतिक क्षेत्र विकास र प्रबद्र्धनको लागि एवं समुदाय र व्यक्तित्व विकासको लागि पनि अहिलेको समयमा ‘होम स्टे’ नभै नहुने एक आवश्यकताको रुपमा लिन सकिन्छ ।

सायद, आउँदो नेपाल भ्रमण वर्षको लागि कीर्तिपुरमा पूर्ण रुपमा ‘होम स्टे’ संचालन होला कि !

(कीर्तिपुरबाट प्रकाशित स्वर्णिम सन्देश साप्ताहिकबाट साभार)

Categorized in बिजनेस