कीर्तिपुरबाट मल्टि ट्यालेन्ट हिरोको उदय : रजिन महर्जन
Janjati Khabar – LALENDRA SHAKYA | २०८१ जेठ २९, मंगलबार
कीर्तिपुर/नेपालभाषा म्यूजिक भिडियो एवं चलचित्र जगतमा रजिन महर्जन एक चर्चित निर्देशकको रुपमा परिचित नाम हुँदै आइरहेका छन् । केही समय अघि मात्र रजिन महर्जनको अफिसियल यूट्युब च्यानल कीर्तिपुरको मगन इन्टरटेन्टमेन्टबाट रिलिज भएको “वया मां जि...”, “व मनू सु मनू...”, “म्यूजियम”, “छंगु म्हगः गुलि बांलाः...”, “उच्च शिक्षा”, “सदय” इत्यादी जस्ता मार्मिक, मनोरञ्जनात्मक एवं चेतना शिक्षामूलक म्यूजिक भिडियो एवं लघु चलचित्रहरु निर्देशन गरिसक्नु भएका निर्देशक हुन् रजिन महर्जन ।
हाल रजिन महर्जनले “छंगु म्हगः गुलि बाला” पार्ट २ को लागि स्वयं रजिन महर्जनले म्यूजिक भिडियोमा अभिनय मार्फत् हिरोको भूमिकामा पाईला चाल्नु भएको छ । हुनतः योभन्दा पहिले पनि रजिन महर्जनले “बाखंचा” नामक सिरियलमा पनि अभिनय गरिसक्नु भएको छ भने “सदय” नामक लघु चलचित्रमा पनि अभिनय गरिसक्नु भएको छ । कीर्तिपुरका चर्चित गायक सतीश महर्जनको स्वर रहेको “सलिंचाय्...” बोलको “छंगु म्हगः गुलि बांला...” पार्ट २ म्यूजिक भिडियोमा निर्देशक स्वयं रजिन महर्जनले मेन रोल हिरोको भूमिका निभाउनु भएको छ । छंगु म्हगः गुलि बांलाः पार्ट १ का कलाकार राष्ट्रिका शाक्यको नै मुख्य भूमिका रहेको “सलिंचाय्...” छंगु म्हगः गुलि बांलाः ...” पार्ट २ मा राष्ट्रिका शाक्यको हिरोको रुपमा निर्देशक रजिन महर्जन देखा पर्ने भएको छ ।
“छंगु म्हगः गुलि बांलाः” पार्ट १ गीतका रचनाकार आर मानन्धर हुनुहुन्छ भने गायक जुजुकाजी रंजित हुनुहुन्छ । त्यस्तै “छंगु म्हगः गुलि बांलाः” पार्ट २ “संलिचाय...” गीतको रचनाकार पनि आर मानन्धर हुनुहुन्छ भने गायक सतीश महर्जन हुनुहुन्छ ।
रजिन महर्जन, सानो उमेरदेखि नै “क्रियटिभ ब्लोइङ माइण्ड”का स्वभाव भएका प्रतिभावान् चरित्रको रुपमा कला एवं प्राविधिक क्षेत्रमा सुस्तरी होमिएका वास्तविक पात्र हुन् । तिक्ष्ण दिमाग र गुणले भरपूर रजिन महर्जनले प्राविधिकको रुपमा भिडियो एडिटिङदेखि निर्देशन, गायन प्रतिभादेखि कलाकारको रुपमा यो क्षेत्रमा पाईला चाल्नु भएको छ । यो हिसाबले रजिन महर्जनलाई मल्टि ट्यालेन्टको दर्जा दिए पनि फरक नपर्ला ।
नयाँ सोंच र नयाँ जाँगर एवं नौलो प्रविधिबाट लघु चलचित्र भनौं या त म्यूजिक भिडियो, दर्शकमाँझ स्तरीय भिडियो, कथावस्तु, प्रविधि, प्रस्तुति पस्किन माहिर रजिन महर्जन हालका नयाँ पुस्ताका लागि एक पथप्रदर्शकको रुपमा स्थापित हुँदै आइरहेका कला कर्मी हुन् । समग्र कीर्तिपुरको लागि रजिन महर्जन र रजिन महर्जनको कार्य कुशलता एक गौरवको विषय बनेको छ । कीर्तिपुरको शान र गौरवको रुपमा हालको समयमा रजिन महर्जन स्थापित भइसकेका छन् । सम्बन्धित क्षेत्रले रजित महर्जनप्रति मूल्यांकन गर्नु पर्दछ नै । रजिन महर्जन हिरोको रुपमा अभिनित “सलिंचाय्...” छंगु म्हगः पार्ट २ म्यूजिक भिडियो जेष्ठ ३० गते सिथि नखःका दिन मगन यूट्युबबाट रिलिज हुँदैछ ।
Categorized in सिनेमा