STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरको ‘युद्ध स्मारक पार्क’ निर्माणमा काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २६, बुधबार

गोर्खाली राजा पृथ्वीनारायण शाहको सेना र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भइरहेको छ । करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिने गरी कीर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो । अहिले पार्क निर्माणको काम धमाधम भइरहेको छ ।   

नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक–पटक आक्रमण गरेको इतिहास छ । ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु पाण्डेसहितका गोर्खाली सेनाले कीर्तिपुरमाथि तीनपटक आक्रमण गरे, घमासान युद्ध भयो । त्यही युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बनेको कुरा बताउँदै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले यो युद्ध पार्कमा इतिहास मात्र होइन, नेवारहरुको  कला र संस्कृति झल्काउने मूर्ति र संग्रहालय पनि निर्माण गर्ने योजना रहेको कुरा सुनाउनुभयो । उहाँले युद्धको झल्को दिने गरी ‘युद्ध स्मारक पार्क'मा मुर्त–अमूर्त स्मारकहरु राख्ने जानकारी पनि दिनुभयो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित निर्माणधिन पार्क अनुगमनका लागि कीर्तिपुर पुगेको टोलीलाई कालु पाण्डेको शीर छेदन गरेको खस्रे ढुंगा नजिकै उभिएर चोरी औँलाले काठमाडौतर्फ देखाउँदै महर्जनले उक्त कुराको जानकारी दिनुभयो  । 

केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिककै आर्थिक सहयोगमा निर्माणाधीन तारकेश्वर धामको अनुगमन गर्नुभएका काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले युद्ध पार्क अनुगमनकै क्रममा पार्क निर्माणको काम अलपत्र नछाड्न आग्रह गर्नुभयो ।  उहाँले आगामी बजेटमा पनि थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

अनुगमन टोलीमै सहभागी कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती रिजाल खड्काले  सञ्चारकर्मीहरुसँग  कुरा गर्दै काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगकै कारण युद्ध पार्क निर्माणको योजना अघि बढेको जानकारी दिनुभयो । 

कीर्तिपुरका तीनवटा वडा–१, २ र १० लाई समेटेर पहिलो चरणमा १४ रोपनी र विस्तारै पुरै ५४ रोपनीमै पार्क निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।  

वडा–२ का अध्यक्ष रमेशमान डंगोलले गोर्खाली र कीर्तिपुरे फौजबीच तीनपटक युद्ध भएको र त्यहि बाघभैरव आसपासको ढिस्को चढ्न नसकेर पृथ्वीनारायण शाहले दुईपटकसम्म कीर्तिपुरसँग हार्नुपरेको इतिहासको झल्को दिने गरी पार्क निर्माणको काम अघि बढाएको जानकारी दिनुभयो । 

कीर्तिपुर वडा नं २ का वडा अध्यक्ष डंगोलले पार्क बन्ने ढिस्कोमै ठूलो पर्खाल, गढ र किल्लासमेत निर्माण भइरहेको पनि जानकारी दिनुहुँदै  वि.स १८२१ को भदौमा शुरप्रताप शाह, दलजित शाह र श्रीहर्ष पन्तको नेतृत्वमा कीर्तिपुर माथि दोस्रो आक्रमण भयो र त्यस आक्रमणमा कीर्तिपुरे फौजले गोर्खाली सैनिकका कमान्डर (पृथ्वीनारायण शाहका भाई) शुरप्रताप शाहको आँखा फुटाएको इतिहास छ । शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केही फौज त्योपटक पनि फर्कन वाध्य भएको थियो भन्ने कुरा डंगोलले बताउनुभयो ।

उहाँले  यो पार्कमा युद्धसँग सम्बन्धित मूर्तिका साथै सामाजिक, सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउने सामग्री राख्ने र पार्कमा संग्रहालयसमेत बनाउने योजना नगरपालिकाको रहेको पनि जानकारी दिनुभयो ।

Categorized in उपत्यका