किम्फ-२०२६: ‘साँझका रंगहरु’ ले जित्यो अवार्ड
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ १८, सोमबार
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण आइतवार भव्य रुपमा सम्पन्न भएकाे छ ।
पाँच दिनसम्म सञ्चालन भएको महोत्सवमा फिल्म प्रदर्शन, संवाद, सांस्कृतिक आदानप्रदान तथा विविध सिर्जनात्मक कार्यक्रमहरू आयोजना गरिएका थिए ।
यस वर्षको महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिनुका साथै अन्तरक्रियात्मक प्यानल छलफल, समसामयिक बहस, प्रदर्शनी, स्टल तथा नेपाल र विश्वका विविध कथावाचनलाई समेट्ने कार्यक्रमहरू सम्पन्न भएका थिए ।
यश वर्ष वृत्तचित्रको पुरस्कार The Oldest Munro Bagger ले जित्दै १, ५०० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्यो । त्यस्तै, The Anti Expedition उत्कृष्ट लघु वृत्तचित्र घोषित हुँदै १, ००० अमेरिकी डलर नगद पुरस्कारको विजेता बन्यो ।
कथानक फिल्मतर्फ Ha Lyngkha Bneng (The Elysian Field) उत्कृष्ट फिचर फिक्सन घोषित हुँदै १, ५०० अमेरिकी डलर नगद पुरस्कार जित्न सफल भयो भने Ali उत्कृष्ट लघु फिक्सन घोषित हुँदै १, ००० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्न सफल भयो ।
भारतकी फिल्म कार्यक्रम संयोजक दीप्ती डी’कुन्हाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा थाइल्याण्ड फिल्म अभिलेखालयकी निर्देशक चालिदा उआबुमरुङजित, नेपालका लेखक तथा कवि कुमार नगरकोटी तथा इटलीस्थित सेर्भिनो सिनेमाउन्टेन महोत्सवका निर्देशक लुका बिच सहभागी थिए । निर्णायक मण्डलले विभिन्न विधाका उत्कृष्ट चलचित्र छनोट गरेको थियो ।
नेपाल पानोरमा खण्डअन्तर्गत My Mom is a Bodybuilder उत्कृष्ट वृत्तचित्र तथा ‘साँझका रंगहरु’ उत्कृष्ट फिचर फिल्म घोषित भए । दुवै फिल्मले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यस खण्डको निर्णायक मण्डलमा एलायन्स फ्रान्सेज काठमाडौंकी सांस्कृतिक तथा सञ्चार संयोजक लुसी दे बारोस, फिल्मकर्मी नवीन चौहान तथा फिल्म पत्रकार एवं समालोचक रीना मोक्तान रहेका थिए ।१ लाख रुपैयाँ राशिको दर्शक पुरस्कार चर्चित जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित Climbing for Life ले प्राप्त गर्यो । यो चलचित्र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित रहेको छ।
किम्फ २०२६ को उद्घाटन त्रिवेणी राई निर्देशित Shape of Momo को नेपाल प्रिमियरमार्फत गरिएको थियो । महोत्सवका प्रमुख आकर्षणमा Climbing for Life को विशेष प्रदर्शन, फिल्म र सेन्सरशिपसम्बन्धी संवाद, तथा नेपाली फिल्म निर्माणको बदलिँदो परिदृश्यबारे छलफल रहेका थिए ।
युवा केन्द्रित प्रदर्शन तथा प्यानल छलफलहरूले युवा दर्शक र उदीयमान फिल्मकर्मीलाई अर्थपूर्ण संवादमा सहभागी हुने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
यसैगरी, काठमाडौं डक ल्याब र फिल्म ल्याबका विभिन्न सत्रमार्फत चलचित्रकर्मीहरूले आफ्ना परियोजना प्रस्तुत गर्दै विज्ञहरूको परामर्श, मार्गदर्शन तथा पिचिङ प्रक्रियामार्फत परियोजनालाई थप परिष्कृत गर्ने अवसर प्राप्त गरेका थिए ।
आयोजकका अनुसार किम्फको २३औँ संस्करणले पर्वतीय समुदाय, संस्कृति, वातावरण तथा मानव जीवनसँग जोडिएका कथाहरूलाई विश्वव्यापी दर्शकमाझ पुर्याउने आफ्नो उद्देश्यलाई थप सशक्त बनाएको छ ।
Categorized in सिनेमा

