काेराेना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्ने
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २०, मंगलबार
काठमाडौं : देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञसँग सामूहिक परामर्श गर्दै छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ।
साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ। बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ। भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ। यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि भीडभाड व्यवस्थापनदेखि लकडाउनसम्म जान सुझाव आइरहेको सम्बन्धित मन्त्रीहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा निजी सवारी साधनमा पुनः जोरबिजोर प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेको छ।
स्वास्थ्यको उक्त प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा विचाराधीन छ। यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नुपर्ने हुन्छ। लकडाउन अन्त्यसँगै सरकारले २६ असारदेखि जोरबिजोर प्रणाली हटाएको थियो। सरकारले काठमाडौं प्रवेशमा पनि कडाइ गर्न थालेको छ। राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ। नाकामै कोभिड परीक्षण थालिएको छ।
हवाई सेवा र लामो दूरीका यातायात साधन भदौ १ देखि सञ्चालनमा ल्याउने तयारी छ। तर पछिल्ला दिनमा संक्रमितको संख्या र मृत्युदर बढेपछि यातायात सञ्चालनको मोडालिटीबारे सरकारी संयन्त्र अलमलमा छन्। कोभिडबाट संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। ५७ जनाको मृत्यु भइसकेको छ।
Categorized in राजनीति