STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कार्यतालिका बनाएर सदन सञ्चालन गर्ने सहमति

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २५, बुधबार

काठमाडौं -प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा सञ्चालनका लागि कार्यतालिका बनाएर काम गर्ने विषयमा सदस्यरूबीच मतैक्य भएको हो । बैठकमा समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले मुख्य जिम्मेवारी कानून निर्माणमै सांसदको ध्यान केन्द्रित गर्न कार्यतालिका बनाएर संसद् चलोस् भन्ने सबैको मत आएको बताए।

कानून निर्माण गर्ने मुख्य जिम्मेवारीमा रहने सांसद हाजिर गरी फर्कने, सदनका कुर्सी खाली हुने, विधेयक पारित गर्ने बेलामा कोरम नपुग्ने अवस्था अन्त्य गर्न कार्यतालिका बनाएर काम गर्ने मस्यौदा समितिमा सहमति भएको हो । समिति सदस्य एवं पूर्वमन्त्री हितराज पाण्डेले आगामी दिनमा सदनलाई कार्यतालिका बनाएर प्रभावकारी तुल्याउन सबैबाट प्रयत्न हुनुपर्छ भन्ने आवाजलाई सकारात्मकरूपमा लिुपर्ने बताए।

समिति सदस्य प्रभा भट्टराईले मुख्य जिम्मेवारी कानून निर्माणलाई बिर्सेर हाजिर गरेर सदनबाट जनप्रतिनिधि बाहिरिने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताए। सांसद प्रेम सुवालले सदनलाई प्रभावकारी र चुस्त तुल्याउन संसद् र संसदीय समितिमा सांसदको उपस्थिति निरन्तर हुन जरुरी रहेको धारणा राखे।

समिति सदस्य एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले सदनमा हाजिर लगाएर हिँड्ने प्रवृत्तिलाई रोक्न तथा सांसद सदनमै रहने संस्कार बसाल्ने नियमावली बनाउन सुझाव दिए। समिति सदस्य गङ्गाराम चौधरी र अमरेशकुमार सिंहले संसद्का कुर्सी खाली नराख्न तथा जनप्रतिनिधिलाई अनुशासित र जिम्मेवारी बोध गराउन विद्युतीय हाजिरको व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे।

सांसदद्वय नागिना यादव र सोविता गौतमले लैङ्गिक हिंसा तथा महिलासँग सम्बन्धित उठेको विषयवस्तु तत्काल छलफल र सम्बोधन गर्न सक्ने बेग्लै समिति वा मञ्च आवश्यक रहेको बताए। बैठकमा केही सदस्यले भने हाल सदनमा प्रचलनमा रहेको ढ्याप ढ्यापे समयलाई व्यवस्थित गर्ने तथा पोशाक पनि व्यवस्थित गर्न सुझाव दिए।

Categorized in राजनीति