STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंलाई चलचित्रको अन्तर्राष्ट्रिय सहर बनाउने प्रयास प्रारम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण २९, शुक्रबार

काठमाडौँलाई चलचित्र, कला र रचनात्मक उद्योगको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने दिशामा महत्त्वपूर्ण नीतिगत पहल सुरु भएको छ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘काठमाडौँ रचनात्मक कला परिषद’को पहिलो बैठक सम्पन्न भएको छ। ‘रचनात्मक सहर सञ्चालन व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार गठित परिषदमा चलचित्र विकास बोर्डका अध्यक्षसमेत सदस्य रहने व्यवस्था रहेको छ। यसले चलचित्र क्षेत्रको विकासमा संघीय चलचित्र निकाय र स्थानीय सरकारबीच संस्थागत सहकार्यका लागि महत्त्वपूर्ण आधार तयार गरेको छ।

बैठकमा विशेषगरी काठमाडौँ फिल्म फेस्टिभल आयोजना गर्ने विषय, चलचित्रमार्फत काठमाडौंको पहिचान र गरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, चलचित्र निर्माण–प्रवर्द्धन–प्रदर्शनका लागि दीर्घकालीन नीति विकास गर्ने तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण र लगानी काठमाडौंमा आकर्षित गर्ने वातावरण निर्माण गर्ने विषयमा छलफल भएको छ।

त्यसैगरी कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा रचनात्मक उद्योगमा संलग्न जनशक्तिका लागि अनुकूल वातावरण निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र सीप आदानप्रदान तथा UNESCO Creative Cities Network अन्तर्गतका सहरहरूसँग सहकार्य विस्तार गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ।

काठमाडौं महानगरपालिका चलचित्र विधाबाट UNESCO Creative Cities Network मा आबद्ध भइसकेको अवस्थामा अब यसको अवसरलाई नेपाली चलचित्रको उत्पादन, प्रवर्द्धन, फिल्म पर्यटन, अन्तर्राष्ट्रिय सहनिर्माण र बजार विस्तारसँग जोड्नु महत्त्वपूर्ण छ।

चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजार, महोत्सव, सहनिर्माण र सांस्कृतिक आदानप्रदानसँग जोड्ने वातावरण निर्माणलाई महत्त्व दिँदै आएको छ। काठमाडौँ रचनात्मक कला परिषदजस्ता साझा संस्थागत संरचनाले स्थानीय सरकार, संघीय चलचित्र निकाय र चलचित्र क्षेत्रबीच आवश्यक समन्वयलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

नेपालका कथा, संस्कृति, सम्पदा र सिर्जनालाई विश्वका पर्दासम्म पुर्‍याउन नीति, पूर्वाधार, प्रवर्द्धन र सहकार्य एकसाथ अघि बढ्नुपर्छ। काठमाडौँ रचनात्मक कला परिषदको पहिलो बैठकलाई चलचित्र विकास बोर्डले यही दीर्घकालीन यात्राको सकारात्मक सुरुवातका रूपमा लिएको छ।

Categorized in साहित्य-कला