STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा भिख माग्न निषेध, मागे कारबाही

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २०, सोमबार

काठमाडौं - काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो ।

साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।

साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भिख माग्न वा भिख माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ ।

असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भिख माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाण्डौ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।

१० दिनभित्रमा उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानून बमोजिम कारबाही गरिने महानगरले सूचनामामार्फत जनाएको छ ।

Categorized in उपत्यका