STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा तरकारीको मूल्य दोब्बर वृद्धि

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ३०, बुधबार

काठमाडौं - काठमाडौंमा तरकारीको मूल्य दोब्बरले बढेको छ । बजारको आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि भाउ दोब्बरले बढेको हो । बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ ।

गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक सय रुपैयाँको हाराहारीमा पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज राज्मा सिमी किलोको ११० देखि १२० रुपैयाँ छ भने घिउसिमी किलोको ८० देखि ९० रुपैयाँ थोक मूल्य तोकिएको छ । यो भाउ खुद्रा बजारमा अझ दोब्बरले बढी हुन्छ ।

कोरोनाको जोखिमका कारण अहिले काठमाण्डौ उपत्यकाका प्राय सबै विद्यालय बन्द छन् । विद्यालयका होस्टेल तथा क्यान्टिन तथा होटल र रेस्टुरेन्ट पनि प्राय बन्द हुँदा तरकारीको माग त्यति धेरै छैन । बजारमा अहिले दैनिक ६ सयदेखि सात सय मेट्रिक टन तरकारी पनि भित्रिरहेको छ । तर, पनि मूल्य भने बढ्दै गएको छ ।

बर्खाको समय भएकाले तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । वर्षाका कारण तयार हुँदै गरेका तरकारीमा नोक्सानी हुने र उत्पादन भएका तरकारी पनि ढुवानीका क्रममा बिग्रने गरेकाले भाउ बढेको उनको भनाइ छ ।

प्रभावकारी अनुगमन नहुँदा व्यापारीले आफूखुशी मूल्य राखेर तरकारी बिक्री गर्ने गरेका उपभोक्ताको गुनासो छ ।

Categorized in बिजनेस