STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंको इतुम्बहालमा ऐतिहासिक सम्पदा संग्रहालय

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण १३, शनिबार

काठमाडौंको इतुम्बहाललाई राजधानीका बौद्ध विहारहरुमध्येको सबैभन्दा ठुलो र पुरानो महाविहार मानिन्छ । प्राचीन इतिहास बोकेको इतुम्बाहाः आफैमा सिंगो सङग्रहालय हो ।  मूर्तअमूर्त सम्पदाले भरिपूर्ण भएको कारण इतुम्बहाः अर्थात् केशचन्द्र पारावत् महाविहार समृद्ध छ । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुने गर्दछ । 

 करीब दुई वर्षदेखिको अथक प्रयासपछि शनिवार यस इतुम्बाहाः म्युजियमको पूर्व मेयर विद्या सुन्दर शाक्यले उद्घाटन गर्नु भएको छ भने बागमति प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्य को विशेष उपस्थिति रहेको थियो ।

इतुम्बाहाः म्युजियम स्थापनाका लागि अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम आर्टले यस श्री भाष्करदेव संंस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजसँग सहकार्य गरेको छ । यसैगरी, इतुम्बाहाः समाजले गरेको यस म्युजियमको परिकल्पना लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको हो ।

सन् १९९९ मा इतुम्बहाः को आगन घरबाट हराएको पुष्पमालाले सुुुसज्जित अप्सरा (विद्याधर) अमेरिका पुगेको थियो । सन् २००३ मा रुवेन म्युजियमको सङ्ग्रहमा विद्याधर पनि थपियो । सामाजिक सञ्जालमार्फत् सतर्क गराउने मञ्च लस्ट आर्ट्समार्फत् रुवेन म्युजियम यस प्राचीन महत्व बोकेको सामाग्री विद्याधरको इतिहासबारे अवगत भयो । त्यसपछि रुवेनले तुरुन्तै यसको सत्यतथ्य बुझ्न अनुसन्धान गर्यो र विद्याधरलाई उसको पुरानै स्थान इतुम्बहालमा फिर्ता गर्न न्युयोर्कमा रहेको नेपाली वाणिज्य दुतावाससँग सहकार्य गरी विद्याधरलाई नेपाल फर्कायो ।

रुविनले सामाजिक दायित्वअनुरुप इतुंबाहाः संरक्षण समाजसँग सिर्जनात्मक साझेदारी गरेको हो । यस म्युजिमको स्थापनामा लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर स्वस्ति राजभण्डारी र उहाँका विद्यार्थीसम्मिलित टिमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

इतुंबाहाः म्युजियममा अहिले तीन ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामाग्री प्रदर्शनमा राखिएको छ । नष्ट हुने अवस्थामा भण्डारणमा रहेका यी पुरातात्विक महत्वको सामाग्री संग्रह गरी सकेसम्म पहिलेकै अवस्थमा ल्याएर संग्रहित गरी अभिलेखीकरण गरिएको छ । 

यसै क्रममा पाँच सयभन्दा बढी पुरातात्विक सामाग्री पहिचान भए पनि हाललाई करीब एक सय पुरातात्विक सामग्री मात्र प्रदर्शनमा राखेका छौँ । दशकौँदेखि भण्डारमा थुप्रिएका सामाग्रीलाई नष्ट हुनबाट जोगाउन र यस्ता सामाग्रीको पहिचान गरी आगामी पुस्तालाई पनि सम्पदा संरक्षण बारे जानकारी गराउने उद्देश्य यस सङ्ग्रहालयको रहेको छ । यसैगरी, इतुंबाहाः म्युजियमको एउटा सेक्सनले ‘मूर्त सम्पदाको संरक्षणमा सामुहिक जिम्मेवारीः हराएको र फिर्ता भएको सम्पदा’ को पनि जानकारी र जनचेतना गराउने प्रयास गरेको कुरा  श्री भाष्करदेव संंस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका  अध्यक्ष प्रज्ञारत्न शाक्यले बताए  ।

Categorized in उपत्यका