
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, कंकेश्वरीमा अन्त्येष्टि
Janjati Khabar – Janjati Khabar | २०८१ पौष १, सोमबार

काठमाडौं- काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि गरिएको छ । केही बेरअघि डल्लुनजिकै कंकेश्वरी घाटमा सिंहको अन्त्येष्टि गरिएको हो । सिंहको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीको झन्डा ओढाएका थिए ।
पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी बस्दै आएका थिए । पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
विसं १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं नगरपालिका प्रमुखमा निर्वाचित हुन् । उनकै कार्यकालमा २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
कामपाले स्व सिंहको निधनप्रति सम्मान प्रकट गर्दै आज केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयका अत्यावश्यकबाहेक सेवा बन्द गरी शोक बिदा दिएको छ ।
८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। गतवर्ष मात्रै उनको पेटको शल्यक्रिया गरिएको थियो। उनी बहुदलपछि तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो मेयर थिए। उनैले काठमाडौंलाई महानगर बनाउन भूमिका समेत खेलेका थिए।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेसम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घण्टासम्म राखिएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकदले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले आज, भोलि र पर्सि गरेर तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, मंगलबार (भोलि) केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताए ।
Categorized in व्यक्तित्व