काठमाडाैंमा मेलम्चीको पानी
Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १५, आइतबार
काठमाडौँ - मेलम्चीको पानी काठमाडौंको महाकाल क्षेत्रमा वितरण सुरु भएको छ ।
आइतबार दिउँसो महाकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो ।
सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएकाो थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।
उक्त पानी आइतबार दिउँसोदेखि नै चावहिल महाँकालचौर क्षेत्रमा वितरण गरिने केयूकेएलको भनाइ छ ।
‘पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज दिनभरिमा ४ करोड लिटर पानी महाकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने योजना छ’ केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए ।
आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण गरिएको थियो । आइतबार काठमाडौं उपत्यकामा मेलम्चीको ४ करोड लिटर पानी वितरण गरिएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले जानकारी दिए ।
Categorized in उपत्यका

