STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कर्णाली प्रदेशसभा : चार सांसद एमालेबाट निष्कासित

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ४, शनिबार

शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका ४ सांसदलाई एमाले कर्णाली प्रदेशले पार्टी सदस्यसमेत नरहने गरी निष्कानिष्कासित गरेको छ ।

नेकपा एमालेका कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले विज्ञप्ति जारी गरेर प्रदेशसभाका सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जानकारी दिएका हुन् ।

‘तीन वर्षअघि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमाले सम्मिलित नेकपा माओवादी केन्द्रको नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको थियो,’ अध्यक्ष बोगटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलाअनुसार साविकका दुवै पार्टी पूर्ववत् अवस्थामा फर्किसकेको अवस्थामा २०७७ चैत्र ४ गतेका दिन बसेको नेकपा एमाले कर्णाली प्रदेशसभा दलको बैठकको निर्णयअनुसार नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता गरिएको थियो ।’

एकता भंग भएका कारण नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार अल्पमतमा परेकोले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि ३ वैशाखमा बसेको कर्णाली प्रदेशसभाको बैठकमा नेकपा एमाले कर्णाली प्रदेशसभा दलको ह्वीप उल्लंघन गरेकाले चार जनालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित एवं कर्णाली प्रदेश कमिटीका सदस्यसमेत रहेका निम्न व्यक्तिहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विजयी एवं कर्णली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरी जघन्य अपराधपूर्ण काम गरेकाले हाम्रो पार्टीको २०७८ वैशाख ३ गते नै बसेको प्रदेशसभा दलको बैठकको निर्णयअनुसार निजहरूलाई प्रदेशसभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाटसमेत निस्कासन गर्न भनि आएको सिफारिसलाई समेत आधार बनाइ २०७८ बैशाख ३ गतेदेखि लागू हुनेगरी निजहरूलाई पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Categorized in राजनीति