
कमजोर नगर प्रमुख : कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्र बेवारिस
Janjati Khabar – Janjati Khabar | २०८२ बैशाख ५, शुक्रबार

घर–गृहस्थीमा, परिवारको प्रमुख व्यक्ति कमजोर भएको अवस्थामा आफ्ना सम्पूर्ण परिवार नै विच्चलीमा पर्ने तथ्य त सबैले जानेको र बुभेको नै विषय हो । यस्तै अवस्था कीर्तिपुर नगरपालिकामा भइरहेको अवस्था छ ।
कीर्तिपुर नगरपालिकाले नयाँबजार १० वडास्थित खेलमैदानमा कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्र निर्माण कार्य सम्पन्न गरिसकेको छ । तर उक्त कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्र नगरपालिकाले संचालनमा ल्याउन सकेका छैनन् । कीर्तिपुर गाईड एशोसिएसन नामक नीजि संस्थाले हाल पर्यटन सूचना केन्द्र संचालन गरिरहेको छ, कीर्तिपुर १० वडा चिथुटोलमा एक कोठा बहालमा लिई । उक्त कीर्तिपुर गाईड एशोसिएसनले कीर्तिपुर प्रवेश गर्ने विदेशी पर्यटकहरुबाट प्रति पर्यटक रु. दुईसयका दरले प्रवेश शुल्क लिइरहेका छन् ।
नगरपालिकाले गर्न नसकेको कार्य नीजि संस्था कीर्तिपुर गाईड एशोसिएसनले त गरिरहेका छन्, गाईड एशोसिएसनप्रति गर्व र गौरव गर्नुपर्छ कीर्तिपुरका जनताहरुले । यो भनेको कीर्तिपुर नगरपालिका पर्यटन क्षेत्रमा कमजोर अवस्थामा तैरिरहेको आभाष हुन आउँछ ।
पर्यटन सूचना केन्द्र त कीर्तिपुर नगरपालिकाले संचालन गर्नुपर्ने हो । किन नीजि संस्थालाई सुम्पिरहेको छ त नगरपालिकाले ? नगरपालिका मातहत आफ्नै नीजि भवन निर्माण सम्पन्न भइसकेता पनि उक्त भवनमा पर्यटन सूचना केन्द्रको कार्यालय किन स्थापित गर्न सकेनन् त नगरपालिकाले ?
हाल कीर्तिपुर गाईड एशोसिएसनले संचालन गरिरहेको उक्त पर्यटन सूचना केन्द्र आफ्नै भवनमा कार्यालय संचालनमा ल्याई गाईड एशोसिएसनकै कर्मचारीहरुलाई कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्रको कर्मचारीको रुपमा कार्यरत गराई नगरपालिकाले पर्यटन सूचना केन्द्र कार्यालय संचालनमा ल्याए पनि बेश हुने थियो । पर्यटन सूचना केन्द्र नीजि संस्थालाई सुम्पनु भनेको कीर्तिपुर नगरपालिका पर्यटन क्षेत्रसंग टाढिएको जस्तो भएन र ? कीर्तिपुर नगरका जननिर्वाचित नगर प्रमुखले यो विषयमा ध्यानै नदिएको हो कि ? कि नगरपालिकालाई पर्यटन क्षेत्रसंग बालै मतलब नभएको हो ?
यहाँँ कीर्तिपुर नगरका नगर प्रमुख कमजोर भएको देखियो भने पर्यटन सूचना केन्द्र बेवारिस अवस्थामा छट्पटाई रहेको जस्तो देखियो । यो विषयमा कीर्तिपुर नगरपालिकाको विशेष ध्यान जानु आजको आवश्यकता हो ।
यस्तै, हाल कीर्तिपुर गाईड एशोसिएसनले प्रत्येक शनिबार दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म सवारीसाधन बन्द गरी सम्पदा मार्ग १० र १ वडामा नेवाः उत्सव आयोजना गर्दै आइरहेका छन्, उक्त उत्सवमा पनि नगरपालिकाको केही भूमिका देखिएन, किन ? गाडी पार्किङको सवालमा उक्त उत्सवका दिन कहिँ कतै झगडा पनि भएको छ भने नगरपालिकाले सवारी साधन पार्किङ व्यवस्थित गर्न न त नगर प्रहरी परिचालन गरेको छ न त कुनै वास्ता नै गरेको छ । यो जनआवाजको रुपमा तरंगित भइरहेको छ ।
Categorized in उपत्यका