STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओली र प्रचण्डले बोलाए गुट भेला

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ६, सोमबार

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटको कदम अलोकतान्त्रिक, असंवैधानिक र निरकुंश भएको निष्कर्ष निकाल्दै उनलाई अनुशासनको कारवाही स्वरुप पार्टी अध्यक्ष पदबाट हटाउने तयारी नेकपाको असन्तुष्ट पक्षले गरेको छ ।

तर त्यो कारवाही भोग्नुभन्दा पहिले नै ओलीले पार्टी फुटाउन सक्ने नेताहरुको आँकलन छ। विकसित राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन्।

ओलीले आफ्ना पूर्व सांसदहरुलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका छन्। यो छलफलबाट ओलीले सांसदहरु नरहेको अवस्थामा केन्द्रीय कमिटिहरुकै आधारमा नयाँ पार्टी गठन या यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको एमाले नामको पार्टीमा भित्रने निर्णय गर्न सक्ने त्यस छलफलमा भाग लिन जान लागेका एक सांसदले बताए।

उनले भने, ‘अब एकै ठाउँमा बस्ने स्थिति रहेन। पार्टी विभाजन हुनेमा अब कुनै शंका पनि छैन। तर के कसरी अघि बढ्ने भन्नेमा छलफल गर्न प्रधानमन्त्रीले हामीलाई डाक्नु भएको हो।’

हिजो पार्टी स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। भोलि बस्ने केन्द्रीय समितिको बैठकले कस्तो खालको कारवाही गर्ने भन्ने निर्णय गर्नेछ।

त्यसअघि ओली आफ्नो रणनीति बनाउन छलफलमा जुट्न लागेका हुन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि आफू निकटका सांसदहरुसँग परामर्श गर्दै छन्।

दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरुलाई छलफलका लागि बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डले पछिल्लो घटनाक्रमबारे सांसदहरुलाई ब्रिफिङ गरी कसरी अघि बढ्ने भन्नेबारे परामर्श गर्न लागेको सचिवालय स्रोतले जनाएको छ।

सभामुखको विशेषाधिकार प्रयोग गरी संसद अघि बढाउने विकल्पमा पनि प्रचण्डले परामर्श गर्नेछन्।

Categorized in राजनीति