STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओलीपक्षीय बैठककाे निर्णय : महासचिवबाहेक सबै पदाधिकारी खारेज

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २९, शनिबार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् ।

साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर  बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए । पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् ।

असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।

३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।

५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो ।

बैठकले बादल समूहका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि गरेकाे छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका बादलसहितका नेताहरु माओवादी केन्द्र फर्किएका थिएनन् ।

महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय

ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले मंसिर २ देखि ६ गतेसम्म दसौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीका अनुसार शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीले आगामी महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको हाे ।

केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।

Categorized in राजनीति