STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओमानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जित

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ४, सोमबार

काठमाडौँ -  ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गतको आइतबारको खेलमा नेपाल ७ विकेटले विजयी भएको हो ।

अल अमेरत मैदानमा भएको खेलमा ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले ३१.४ ओभर बाँकी रहँदै पूरा गर्दै पछिल्लो तीन हारको बदला समेत लिएको छ । ओमानले नेपाललाई यही प्रतियोगिताको पछिल्लो तीन खेलमा हराइसकेको छ । 

नेपालको लागि बलिङमा करन केसी र सन्दीप लामिछाने नायक बने भने ब्याटिङमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । यो जित प्रशिक्षक डेभ ह्वाटमोरलाई शानदार उपहार बनेको छ । यो खेलसँगै नेपालको प्रशिक्षकको जिम्मेवारी छोडेका उनको लागि टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी कप्तान मल्लको थियो । 

ह्वाटमोर नौ महिनाअघि नेपालको प्रशिक्षकको रूपमा आएका हुन् । यही प्रतियोगिता सुरु हुनुअघि उनले नेपाल क्रिकेट संघ (क्यान) लाई इमेल लेखेर राजीनामा दिएका हुन् । उनले व्यक्तिगत कारणले आफूले नेपाली टोलीलाई थप प्रशिक्षण दिन नसक्ने उल्लेख गरेका छन् ।

ओमानले दिएको लक्ष्य पछ्याउने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट रहँदै ४६ बलमा ५२ रन बनाए । सो क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे । उनलाई बलियो साथ दिएका आशिफ शेखले ४४ बलमा ७ चौकासहित ४० रन बनाए । यी दुईले ९५ रनको साझेदारी गरे । 

यस्तै कुशल भुर्तेल र रोहित पौडेल ६/६ रन बनाइ आउट भए भने शरद भेषावकर १ रन बनाइ नटआउट रहे । 

यसअघि टस जितेर पहिले फिल्डिङ गरेकोमा नेपाली बलरले कप्तान ज्ञानेन्द्र मल्लको निर्णयलाई सही साबित गर्दै ओमानलाई ठूलो रन बनाउन दिएन ।  

सन्दीपले मोहम्मद नामिदलाई ४ रन, सुरज कुमार र नेष्ठर धम्बालाई शून्य रनमा आउट गरेका हुन् ।

त्यसअघि करणले ओमानका ओपनरद्वय जतिन्दर सिंहलाई १३ रनमा आशिफ सेखबाट र सुफ्यान मेह्मुदलाई ४ रनमा सुशान भारीबाट क्याच आउट गराए थिए भने आयान खानलाई ७ रनमा बोल्ड आउट गराएका थिए ।

Categorized in खेलकुद