STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म, १२ काे परीक्षा जेठ २६ देखि

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २५, मंगलबार

काठमाडौँ - २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि र १२ कक्षाकाे परीक्षा जेठ २६ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिनेछ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएका थिए । यद्यपि कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । एसईईको परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले यससम्बन्धी स्पष्ट कानून बनाउन सकेको छैन ।

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ ।

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि

यसैगरी कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड–१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो । मन्त्रिपरिषदको बैठकले शिक्षा नियमावली संशोधन गरेर दुई महिना शैक्षिक सत्र थप गर्ने अधिकार मन्त्रालयलाई दिएको थियो ।

Categorized in शिक्षा