STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले महाधिवेशन : लोगो फेरियो, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १७, आइतबार

नेकपा एमालेको लोगो परिवर्तन भएको छ । 

यसअघि सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखिएको थियो । अहिले त्यसलाई फेरेर सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो तय भएको हो ।

माओवादी केन्द्रसँग एकीकरण भएर नेकपा बन्दा पनि यस्तै किसिमको लोगो प्रयोग भएको थियो ।

वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

यसैगरी नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष राखिने भएको छ । 

ललितपुरको गोदावरीमा चलिरहेको विधान महाधिवेशनमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्षको व्यवस्था गरिएको बताएका हुन् । उनले प्रतिनिधिहरूको सुझावका आधारमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको बताए । 

'कमरेडहरूले १ देखि ९ जनासम्म उपाध्यक्षको राख्नुपर्ने सुझाव दिनुभएको छ । ती सबै सुझावलाई मनन् गर्दै परिमार्जनसहित वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष राख्ने प्रस्ताव गरेको छु,' उनले भने । 

यस्तै उपमहासचिव पद एउटा मात्रै राखिने भएको छ । पौडेलले उपमहासचिव दुईदेखि तीन जनासम्म राख्न सुझाव आए पनि यसलाई परिमार्जन गर्दै एक जनामात्रै उपमहासचिव राखिनेछ । अहिले एमालेमा दुई जना उपमहासचिव छन् । अब दशौँ महाधिवेशनबाट एमालेमा एक जना मात्रै उपमहासचिव हुनेछन् ।

यस्तै उनले १५ सदस्यीय पदाधिकारी रहने बताए । उनका अनुसार अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव रहनेछन् ।

पदाधिकारीहरू रहेको सचिवालय बनाइने उनले बताए । यस्तै स्थायी कमिटी भने ४५ सदस्यीय हुने भएको छ । 

Categorized in राजनीति