STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एनपीएलका केही खेल हेर्न ब्रायन लारा काठमाडौंमा

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २८, शुक्रबार

काठमाडौं- वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आएका छन्। उनी आज बिहान काठमाडौं ओर्लिएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे। 

लारा क्यानको निमन्त्रणामा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण हेर्न काठमाडौं आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपीएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ। 

क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेलेका छन्। एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेका छन् भने ४८ अर्धशतक प्रहार गरेका छन्।  

उनले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएका छन्। लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाएका थिए। 

त्यसैगरी लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेका छन्।

Categorized in खेलकुद