STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपमहानगरको भागवण्डा टुंग्याउन गठबन्धनको बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ७, बुधबार

काठमाडौं - आसन्न स्थानीय तह निर्वाचनमा ११ वटा उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सत्ता गठबन्धनको निर्णायक बैठक बसिरहेको छ।

मंगलबार दिउँसो नै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगपालिकाको भागवण्डा टुंगिए पनि जसपाले दुईवटा उपमहानगरपालिकामा दाबी गरेपछि सहमतिको मस्यौदामा हस्ताक्षर हुन सकेको थिएन।

जसपाले जनकपुरसँगै नेपालगन्ज उपमहानगर आफूले पाउनुपर्ने दाबी गरेपछि मंगलबार अबेर रातिसम्म बालुवाटारमा गठबन्धनका नेताहरुबीच सहमति जुट्न सकेको थिएन।

आज विहान ११ बजे बस्ने भनेर छुट्टिएका गठबन्धनका नेताहरु दिउँसो १२ बजेदेखि फेरि बालुवाटारमा भागवण्डा टुंग्याउन जुटेका छन्।

कांग्रेसको भागमा पारिएको नेपालगन्जमा जसपाको दाबीले पेचिलो बनेको उपमहानगरको भागवण्डाको गाँठो आजको बैठकले फुकाउने नेताहरुले बताएका छन्।  

सत्ता गठबन्धनमा कांग्रेसलाई ७, माओवादी केन्द्रलाई २ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक/एक उपमहानगरपालिका दिनेगरी प्रारम्भिक सहमति जुटेको थियो। यसअन्तर्गत इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढी कांग्रेसले लिने तय भएको थियो। माओवादीले घोराही र जितपुर सिमरा, एकीकृत समाजवादीले हेटौंडा र जनकपुर जसपाले लिने तय भएको थियो।

प्रारम्भिक सहमतिलाई राति शीर्ष नेताहरुले अन्तिम रुप दिएर हस्ताक्षर गर्ने तय भएको थियो। तर मंगलबार दिउँसो गठबन्धन बैठकमा अनुपस्थित जसपा अध्यक्ष उपेन्द्र यादवले रातिको बैठकमा नेपालगन्जमा पनि दाबी गरे। कांग्रेसलाई भाग लगाएको नेपालगन्जमा यादवले सशक्त दाबी राखेपछि राति सहमति जुट्न नसकेको एक नेताले बताए।

महानगरतर्फ भने कांग्रेसले तीन, माओवादी, एकीकृत समाजवादी र जसपाले एक एक पाउनेगरी भागवण्डा मिलिसकेको छ।

Categorized in राजनीति