STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका नगरपालिका फोरमले अत्यावश्यक बाहेकका सेवा प्रवाह १५ गतेसम्मलाई स्थगन गर्ने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ८, सोमबार

विजयरत्न असंबरे
उपत्यका नगरपालिका फोरमको आज बसेको बैठकले उपत्यकामा समुदाय स्तरको कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । त्यसैगरी बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्यावश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा थप गरी पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित काठमाण्डौं उपत्यकाका मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राख्नु भएको थियो । बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले कोरोना विरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्छ भन्नुभयो । स्वास्थ्य विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले पछिल्लो समय संक्रमित बढेको भन्दै त्यसले उपत्यकामा संक्रमित धेरै छन् भन्ने प्रमाणित गरेको जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभाग डाक्टर अमिति पोख्रेलले कन्ट्याक्ट ट्रेसिङबाट चेन ब्रेक गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने बताउनुभयो ।
Categorized in उपत्यका