STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर ९, आइतबार

काठमाडौँ, सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ ।  
मन्त्रालयमा आज भएको ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समिति’को बैठकले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
विसं २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गरेको थियो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “फोहर व्यवस्थापनमा सबैले आवश्यक मापदण्ड पालना गर्नुपर्छ । फोहर वर्गीकरण, पुनःप्रयोगलगायत विषयमा सबैले ध्यान दिन जरुरी छ । यसमा मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय  रहन्छ ।”
उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन गर्न विकल्पका बारेमा छलफल गरी अघि बढ्न सकिने उल्लेख गर्नुभयो । यसमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आज भएको छलफलबारे जानकारी दिँदै मन्त्रालयका सचिव मणिराम गेलालले उपत्यकाको फोहर व्यवस्थापनको नेतृत्व काठमाडौँ महानगरपालिकाले लिने जनाउँदै स्थानीयको जायज माग व्यवस्थापनका लागि विभिन्न सुझाव आएका बताउनुभयो । फोहर ओसार्न वैकल्पिक बाटो निर्माण, ल्याण्डफिल साइटको जग्गा अधिग्रहणका बारेमा स्पष्टता, कुहिने फोहर उपत्यकामा विसर्जन गरी मल बनाउनेलगायत विषयमा आज निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भरतमणि सुवेदी, ललितपुर महानगरपालिका प्रमुख एवं उपत्यका मेयरर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जन, विभिन्न नगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतलगायत अधिकृतलगायत उपस्थित हुनुहुन्थ्यो ।


Categorized in राष्ट्रिय