इन्धन खपत घटाउन जोरबिजोर - संसदीय समिति
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २५, बुधबार
काठमाडौं - इन्धनको मूल्यमा भएको वृद्धिले अर्थतन्त्र नै संकटमा पर्न सक्ने भन्दै संसदीय समितिले इन्धनको खपत घटाउने उपाय निकाल्न सरकारलाई निर्देशन दिएको छ । रुस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि आयल निगमले पनि हालै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य अझै बढ्ने सम्भावना देखिएपछि प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बुधबार बसेको बैठकले इन्धन खपत घटाउन दिर्नेशन दिएको हो ।
समितिले जोरबिजोर प्रणाली लागू गर्ने, पेट्रोलियम पदार्थको बिक्रीमा कोटा निर्धारण गर्ने र भारतीय सवारी साधानलाई पेट्रोलियम पदार्थ नदिने जस्ता उपाय अबलम्बन गर्न निर्देशन दिएको छ ।
नेपाल आयल निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीलाई बोलाएर बुधबार संसदीय समितिले इन्धनको मूल्य वृद्धिले पार्ने असरबारे छलफल गरेको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए ।
उनले मूल्य बढेकै कारण दैनिक सवा अर्ब रुपैयाँ बाहिरिएको भन्दै त्यसले समग्र अर्थतन्त्र नै संकटमा पर्ने देखिएकाले खपत कम गर्ने उपाय अबलम्बन गर्न निर्देशन दिइएको बताए । समितिले पेट्रोलियम पदार्थमा लगाइएको कर पनि घटाउन निर्देशन दिइएको बताए ।


