STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ । राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ । राष्ट्रपति सिसी देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । संसदले पारित गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई जनमतसङ्ग्रह मार्फत अनुमोदन गरिनेछ । तर जनमतसङ्ग्रहको मिति भने घोषणा गरिएको छैन । वर्तमान संवैधानिक व्यवस्था अनुसार सन् २०१८ मा निर्वाचित भएका राष्ट्रपति अल–सिसीको कार्यकाल निर्वाचित भएको मितिबाट छ वर्षमा सकिनेछ । संविधान संशोधन भएपछि उहाँ अर्को छ वर्षे कार्यकालका लागि पुनः निर्वाचित हुन सक्नु हुनेछ । सभामुख अलि अब्देल आलले संविधान संशोधनको पक्षमा ५३१ तथा विपक्षमा २२ मत परेको जानकारी दिनुभयो । राष्ट्रपति सिसीले सन् २०१३ मा जननिर्वाचित राष्ट्रपति मोहमद मोर्सीलाई सैनिक बलमा पदच्यूत गरी राष्ट्रपति बन्नु भएको थियो । सिसी सन् २०१४ को राष्ट्रपति निर्वाचनमा विजयी हुनुभएको थियो भने सन् २०१८ को मार्चमा सम्पन्न निर्वाचनमा पनि ९७ प्रतिशतभन्दा बढी मत पाएर विजयी हुनुभएको थियो । विपक्षी राजनीतिक व्यक्तिहरुमाथि दमन गरेको आरोप राष्ट्रपति सिसीमाथि लाग्ने गरेको छ । सांसदहरुले राष्ट्रपति सिसीले जतिसक्दो चाँडो राजनीतिक, आर्थिक तथा सुरक्षाका विषयमा महत्वपूर्ण सुधारका कार्यहरु गर्ने अपेक्षा राखेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय