STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आहा ! रारा गोल्डकप चैतमा

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १७, शनिबार

मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण चैतमा हुने भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर चैत १७ देखि २८ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।

ए डिभिजन क्लब, मोफसलका क्लब, आयोजक सहारा क्लब र विदेशी क्लबसहित १२ टिम सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

नेपालका कुन–कुन र विदेशी कुन टिम आउँछ भन्ने यकीन भइसकेको छैन । गत वर्ष भारतको गान्टोक सिटी फुटबल क्लब प्रतियोगितामा सहभागी भएको थियो ।

प्रतियोगिताको विजेतालाई कति पुरस्कार दिने भन्ने तय भइनसकेकोे अध्यक्ष थापाले बताए । ‘कोरोना महामारीले अहिले असहज अवस्था छ । त्यसैले कुन टिम आउँछन् र कति पुरस्कार दिने भन्ने अहिल्यै भन्न सकिँदैन,’ उनले भने, ‘टिकट शुल्क हेरेर पुरस्कार रकम तय गर्छौं ।’

पुरस्कारको रकम बढाउने/नबढाउने भन्नेबारे क्लब छलफलमै छ । १८ औं संस्करणको विजेता मनाङ मस्र्याङदीले दस लाख एक हजार रुपैयाँ र उपविजेता नेपाल पुलिस क्लबले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

प्रतियोगिताबाट आम्दानी एक करोड तीस लाख र खर्च एक करोड एक लाख ८१ हजार हुने अनुमान गरिएको सहारा क्लबका महासचिव रामजी अधिकारीले बताए ।

सहारा क्लबले प्रतियोगिताबाट हुने आम्दानी आँफैले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । एकेडेमीमा अहिले १४ जिल्लाका २४ जना बालक आश्रित छन् । 

Categorized in खेलकुद