STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आलु चिप्स उद्योग सञ्चालनमा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १, बुधबार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित घोकेचौरमा मङ्गलबारबाट ‘माता चण्डेश्वरी आलु चिप्स’को उद्योग सञ्चालनमा भएको छ । स्थानीय उद्योगी इच्छाराम दाहालले सञ्चालन गरेको उद्योग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा औजार खरीद गरी सञ्चालनमा ल्याइएको हो । “मेसिन मात्रै रु ३५ लाखमा खरीद गरेका छौँ”, उद्योगी दाहालले भन्नुभयो, “त्यसमा आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा रु १५ लाख र बाँकी आफैँले खरीद गरेको छु ।” त्यससँगै अन्य सामग्री खरीद गरी रु ५४ लाख ४७ हजार लागतमा सो उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो । चिप्ससँगै आलुको भुजिया र दालमोठसमेत उत्पादन गर्ने गरी अर्को मेसिन थपेर व्यवसायलाई विस्तार गर्न लागिरहेको दाहालले बताउनुभयो । उद्योगबाट १०० किलो आलुबाट २५ किलो चिप्स उत्पादन हुने उहाँको भनाइ छ । उद्योग सञ्चालन भएसँगै त्यसका लागि आवश्यक पर्ने आलु यहीँको प्रयोग हुने भएकाले अब किसानले आलु बिक्री भएन भन्ने चिन्ता गर्नु नपर्ने दाहालले बताउनुभयो । उद्योगबाट उत्पादन गरेको चिप्स आफ्नै कर्मचारीबाट बजारमा खुद्रा बिक्री गर्ने गरी तयारी भइरहेको जनाएको छ । वर्षको रु ३६ हजार दिने गरी १० वर्षका लागि आधा रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको सो उद्योगमा सात जनाले काम गर्नेछन् । मङ्गलबारबाट सञ्चालनमा ल्याइएको सो उद्योग आलु सुपरजोन काभ्रेपलाञ्चोकको सञ्चालक समिति अध्यक्ष हरिराम खतिवडाले उद्घाटन गर्नुभएको हो । किसानले नै सञ्चालन गरेको उद्योगलाई ५० प्रतिशत अनुदान औजार खरीदमा सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले त्यससँगै जिल्लामा यस आर्थिक वर्षमा बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकामा गरी दुई रष्टिक स्टोर, भकारो सुधार र एक आलु चिप्स उद्योगमा सहयोग गरेको बताउनुभयो ।
Categorized in बिजनेस