STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आर्थिक सर्वेक्षण : आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १४, आइतबार

काठमाडौं - सरकारले नयाँ आर्थिक वर्षको बजेट सोमवार ल्याउँदै छ । बजेट आउनुअघि सरकारले आइतबार आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक संस्थान भित्र राख्न आवश्यक संस्थानहरुको संरचनागत तथा व्यवस्थापकीय सुधार आवश्यक रहेको बताएका छन् ।

अर्थमन्त्री डा.प्रकाशसरण महतले आइतबार संसदमा चालु आर्थिक वर्ष ०७९/०८०को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दे विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको बताएका छन् । जसका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने सरकारको अनुमान छ ।

चालू वर्षको फागुनसम्मको आर्थिक सर्वेक्षणअनुसार सार्वजनिक संस्थानबाट सरकारले ६ अर्ब १६ करोड रुपैयाँ लाभांश अर्थात लगानीको जम्मा १ प्रतिशत प्राप्त गरेको छ भने, सार्वजनिक संस्थानको संचालन आय ३६.२ प्रतिशतले वृद्धि भएर ५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको अर्थमन्त्री डा. महतको भनाई छ ।

विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमि कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको अर्थमन्त्री महतको भनाई छ । तथापी, बाह्य क्षेत्रमा सुधार भएर शोधनान्तर स्थिति बचतमा रहेको, विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटन आवागमन बढेकोलगायत अर्थतन्त्रमा सकारात्मक संकेत पनि देखिन थालेको मन्त्री महतले बताए ।

नेपाल सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको पनि अर्थमन्त्री महतले जानकारी दिए । त्यसैगरी, सार्वजनिक संस्थानमा सरकारको शेयर तथा ऋण लगानी गत असार मसान्तसम्ममा छ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा सरकारले सार्वजनिक संस्थानबाट ६ अर्ब १६ करोड रुपैयाँ बराबरको लाभांश लिएको छ । जुन लगानीको एक प्रतिशत बराबर मात्रै हो । आम उपभोक्ता तथा निजी क्षेत्रको आत्म विश्वासलाई अभिवृद्धि गरी आर्थिक नीतिको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने पनि अर्थमन्त्री महतले बताएका छन् ।

Categorized in बिजनेस