STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आफ्नो तलबभत्ता शैक्षिक विकासमा खर्च

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

गोरखाको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरणबाबु श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम शैक्षिक क्षेत्रको विकासमा खर्च गर्नुभएको छ । वडाध्यक्ष श्रेष्ठले पद सम्हालेदेखि अहिलेसम्मको करीब १६ महीनाको तलब भत्ताको रकम वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि खर्च गर्नुभएको हो । वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने निणर्य भए पनि आर्थिक समस्याका कारण कक्षा सञ्चालन गर्न अप्ठ्यारो भएपछि उहाँले आफ्नो सेवासुविधा विद्यालयलाई उपलब्ध गराउनुभएको हो । “१६ महीनाको रु दुई लाख ८८ हजारले तीन विद्यालयका बालबालिकालाई निःशुल्क अङ्ग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुग्ने रहेछ”, उहाँले भन्नुभयो, “मैले यस्तो अभियान आफैँबाट थालनी गर्नुपर्छ भनेर सहयोग गरेको हूँ ।” वडाध्यक्ष श्रेष्ठले वडाभित्रका शहीद स्मृति माध्यमिक विद्यालय, चण्डिका आधारभूत विद्यालय र शहीद लखन थापा प्रावि गरी तीन विद्यालयका विद्यार्थीका लागि उक्त रकमले अङ्ग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुगेको भए पनि अझै दुई विद्यालयमा रकमको अभाव भएको बताउनुभयो । “स्कूल व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक सबैलाई बोलाएर छलफल गरी अङ्ग्रेजी माध्यममा लैजानुपर्छ भनेर निर्णय भयो”, उहाँले भन्नुभयो, “कार्यान्वयनका लागि रकम जुटाउन भने समस्या भयो ।” अहिले जारी भर्ना अभियानका क्रममा समेत वडा कार्यालयले सबै बालबालिकालाई निःशुल्क अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक दिने, पोशाक तथा खाजा उपलब्ध गराउने भन्ने प्रतिबद्धता गर्दै आएको उहाँले बताउनुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र बालबालिकाको आकर्षण घट्दै गएकाले उहाँहरुमा हौसला प्रदान गर्न पनि वडा कार्यालयले यस्तो अभियान सञ्चालन गरी भर्ना गराउँदै आएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय