STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आफैँभित्रको खुशी खोज्न योग

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार

‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ । ‘योगस्थः कुरु कर्माणि’ अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा गरिएको छ । संस्कृत भाषामा योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । मानिस दुःखमा बाँचिरहेको हुन्छ । कसरी सुखी खुशी हुने भन्ने खोजीमा हुन्छ । खुशीको स्रोत आफैँभित्र हुन्छ । त्यहाँ सम्पर्क गर्ने अथवा जोडिने अभ्यासलाई नै योग भनिन्छ । योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायतका सकारात्मक गुणको विकास हुन्छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले प्रस्ताव गर्नुभयो । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नुभएको थियो । यो प्रस्तावलाई हाल विश्वका १७० देशले समर्थन गरिसकेका छन् । योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले असार ६ गते अर्थात् २१ जुनका दिन विविध कार्यक्रमको आयोजना गर्दैछन् । नेपालको अमूल्य निधिका रुपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वथ्य, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय वर्णन पाइन्छ । शिव र पार्वतीबीचको संवादलाई प्रचारप्र्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण शुरु भएको छ । विसं २०७२ देखि राष्ट्रिय योग दिवस भने माघ १ गते मनाउन थालिएको छ । उत्तरायण शुरु दिन पारेर माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय मन्त्रिपरिषद्ले २०७२ साउनमा गरेको थियो । त्यस वर्ष माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
Categorized in विचार