STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आफू निर्वाचित पालिकाभित्र जनप्रतिनिधिले चुनाव प्रचार गर्न नपाइने

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २७, बिहिबार

काठमाडौं - स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी मात्रै गर्न पाइने व्यवस्था छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बुधबार जारी गरेकाे विज्ञप्तिमा आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारका पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत देखिएकाले स्पष्टीकरण सोधी कारबाही गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिइएको जनाएका छन्।

आयोगले स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारवाही गर्न स्पष्टीकरण सोधी तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख)लाई निर्देशन दिएको हो ।

साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउने र कारवाही प्रक्रिया अघि बढाउन आवश्यकताअनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्न भनिएको छ ।

स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आयोगले निर्देशन दिएको हो ।

Categorized in राष्ट्रिय