STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आन्दोलन गर्न उखु किसानहरु काठमाडौंमा

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २८, आइतबार

काठमाडौं । ​सर्लाहीका उखु किसानहरु चिनी मिलहरुबाट बाँकी रहेको भुक्तानी नपाएपछि आन्दोलन गर्न काठमाडौं पुगेका छन् ।

उखुको भुक्तानी नपाएपछि बाध्य भएर काठमाडौं आउनु परेको सर्लाहीका किसान राकेश मिश्रले बताए । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने आन्दोलनका लागि केही किसान काठमाडौं आइसकेका र केही आउँदै गरेका मिश्रले जानकारी दिए ।

गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानहरुलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि फर्किएका थिए ।

तर सरकारले गरेको पाँचबुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनुपर्ने सबै रकम नलिइकन आन्दोलन नरोक्ने किसान मिश्रले बताए ।

आन्दोलनको अगुवाइ उखु किसान संघर्ष समिति सर्लाहीले गरेको पनि मिश्रले बताए । माइतीघरमा हुने आन्दोलनमा एक हजारभन्दा धेरै किसानले सहभागिता जनाउने मिश्रले बताएका छन् । चिनी मिलबाट वर्षौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको उनीहरुको गुनासो छ ।

गएको वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो ।

तर एक वर्ष बित्दा पनि किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्कअनुसार उखु मिलसँग किसानले अझै ५२ करोडभन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

Categorized in कृषि-पर्यटन