STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आत्मघाती गोलमा जर्मनीविरुद्ध फ्रान्स विजयी, पोर्चुगलको जितसँगै क्रिस्टियानो राेनाल्डोको रेकर्ड

Janjati Khabar – एजेन्सी | २०७८ आषाढ २, बुधबार

युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ ।

जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो ।

खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै फ्रान्सको जितको लागि पर्याप्त भयो । खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा करिम बेन्जिमाले गोल गरे पनि भिडिओ असिस्टेन्ट रेफ्री भीएआरले मान्यता दिएनन् ।

खेलमा जर्मनीले पोष्ट लक्षित १० वटा गोल प्रहार गरेको थियो भने फ्रान्सले जम्मा चार वटा प्रहार गरेको थियो । खेलमा ६२ प्रतिशत समय बल जर्मनीसँग थियो भने ३८ प्रतिशत फ्रान्ससँग थियो । समूह एफमा पोर्चुगल शीर्ष स्थानमा र फ्रान्स दोस्रो स्थानमा छ ।

युरोकप २०२० अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगलले हंगेरीविरुद्ध सानदार जित निकालेको छ । पोर्चुगलले हंगेरीलाई ३-० को अन्तरले पराजित गरेको हो ।

यसै खेलबाट पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा केही रेकर्ड बनाएका छन् । हंगेरीविरुद्ध मैदानमा उत्रिएसँगै रोनाल्डो युरोकपमा सर्वाधिक ५ सिजन खेल्ने पहिलो खेलाडी बनेका छन् । उनले युरोकपमा चार सिजन खेलेका १७ खेलाडीलाई पछि पार्दै यो रेकर्ड बनाएका हुन् ।

युरोकपमा रोनाल्डोको रेकर्ड यतिमा मात्रै सीमित रहेन । उनले युरोकपमा सर्वाधिक समय खेल्ने खेलाडीको रेकर्ड पनि आफ्नै नाममा दर्ज गरेका छन् ।

सोमबार भएको खेलसहित उनले युरोकपमा २२ वटा खेल खेलिसकेका छन् । यो पनि आफैँमा रेकर्ड हो ।

यस्तै, हंगेरीविरुद्ध २ गोल गर्न सफल रहेका रोनाल्डोले युरोकपको गोलमा पनि रेकर्ड बनाएका छन् । पाँच सिजनमा ११ गोल गर्दै रोनाल्डो युरोकपको सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

यसअघि फान्सका पूर्व खेलाडी माइसेल पाटिनी र रोनाल्डोले ९ गोलको समान रेकर्ड बनाएका थिए ।

रोनाल्डोले सन् २००४ को युरोकपमा २ गोल गरेका थिए । २००८ मा उनले १ गोल गरेका थिए । रोनाल्डोले २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए ।

२०२० सिजनको पहिलो खेलमा नै २ गोल गर्न सफल रोनाल्डोले थप खेलमा गोल थप्ने अनुमान गर्न सकिन्छ ।

हंगेरीविरुद्ध २ गोल गरेसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १०६ पुगेको छ । उनी अन्तर्राष्ट्रिय गोलमा रेकर्ड बनाउनबाट ३ गोलले पछाडि छन् ।

Categorized in खेलकुद