STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आठ करोडको हाराहारीमा पुस्तक बिक्री

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

जनक शिक्षा सामग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा रु आठ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण गरेको छ । चालू आर्थिक वर्षको नौ महीनामा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयबीच रु सात करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री गरिएको जनक शिक्षा सामग्री केन्द्र पोखराका लेखापाल शिवविलाश पौडेलले जानकारी गराउनुभयो । मकवानपुर जिल्लामा जनक शिक्षा सामग्री केन्द्रको अन्य कार्यालयबाट पुस्तक आपूर्ती हुने गर्दछ । आधिकारिक रुपमा कक्षा–५ देखि कक्षा १० सम्मको पुस्तक बिक्री वितरण गर्नुपर्ने भए पनि यस कार्यालयबाट कक्षा १ देखि कक्षा १० सम्म र अङ्ग्रेजी माध्यममा सञ्चालित सरकारी विद्यालयका लागि आवश्यक पुस्तक पनि बिक्री वितरण भइरहेको छ । गण्डकी प्रदेशअन्तर्गत मनाङ र मुस्ताङमा फागुन १ गतेदेखि नयाँ सत्र शुरु हुने गर्दछ । ती दुई जिल्लामा गत माघ महीनामै पुस्तकहरु पठाइएको सो कार्यालयले जनाएको छ । ती दुई जिल्लाका साथै गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जा, गोरखा, लम्मजुङ, म्याग्दी, पर्वत र बाग्लुङ गरी १६१ वटा विद्यालयमा पुस्तक उपलब्ध गराइएको कम्प्युटर आपरेटर सरोजकुमार घिमिरेले जानकारी गराउनुभयो । प्रत्येक वर्ष पुस्तक खरीद गर्ने विद्यालयलाई नवीकरण गर्नुपर्ने हुन्छ । नवीकरण नगरेकाले विद्यालयलाई पुस्तक उपलब्ध नगराउने गरिएको उहाँले थप्नुभयो । यस कार्यालयमा पर्याप्त मात्रामा पुस्तक रहेको र विद्यालयले माग गरेको आधारमा पुस्तक उपलब्ध गराउँदै आइरहेको लेखापाल पौडेलले बताउनुभयो ।
Categorized in राष्ट्रिय