STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आठौँ खेलकूदलाई गर्मीको चुनौती

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ ।
 
प्रतियोगिता शुरु हुन एकसाता बाँकी छ । गर्मी शुरु भइसकेपछि प्रतियोगिता आयोजना गरिएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ । राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा शुरु भएको छ । विशेषगरी बाँके, बर्दिया र दाङमा गर्मी अलि ज्यादा नै हुन्छ । “गर्मीले गर्दा खेलाडी प्रतियोगितामा सहभागी हुन चासो देखाउँदैनन् । गर्मीले अभ्यास गर्न कठिनाइ हुने त भइहाल्यो, त्यो भन्दा पनि खेलस्थलमा हुने अत्यधिक गर्मीको बेला राष्ट्रिय प्रतियोगिता गरिएको छ । यसले खेलाडीलाई निकै चुनौती छ”, सातौँमा बाँकेबाट प्रतिष्पर्धा गर्दै एथलेटिक्समा स्वर्ण पदक विजेता विश्वरुपा बुढाले भन्नुभयो । 
प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि ठूलो अवसर रहेकाले गर्मीसँग जुधेरै भए पनि खेलमा सफलता हासिल गर्नुपर्ने बुढाको भनाइ छ । उहाँले भन्नुभयो, “गर्मी नै भए पनि आठौँमा प्रतिभा देखाउन पाइने भयो, साह्रै खुशी लागेको छ ।” वैशाख ५ गते उद्घाटन हुने भए पनि चैत २७ गतेदेखि नै प्रतियोगिताका खेल शुरु हुनेछन् ।
 
“खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि खेल्न सक्नुपर्छ”, एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले भन्नुभयो, “गर्मीमा केही चुनौती आउन सक्छन्, तर गर्मीले असर नै गर्छ भन्ने होइन । आयोजकले पनि त्यसको व्यवस्थापन गरिरहेको हुन्छ ।” प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्ने भएकाले मौसमानुसार खेल प्रभावित नहुने उहाँले बताउनुभयो ।
 
नेपाली खेलकूदको कुम्भमेला मानिने राष्ट्रिय खेलकूदलाई सफल बनाउन आफूहरु केन्द्रित रहेको खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताउनुभयो । “खेलकूदका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ”, प्रदेश नं ५ का अध्यक्ष वलीले भन्नुभयो, “हामीले यहाँ भएको स्रोतसाधनलाई अत्यधिक परिचालन गरेर आठौँलाई भव्य र सभ्य बनाउने अभियानमा छौँ ।”
 
प्रतियोगितामा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला गरी पाँच हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । सो खेलकूद भव्य रुपमा सफल बनाउन ६४० प्रशिक्षक र ४६१ टिम व्यवस्थापकलाई भ्याइनभ्याई छ । खेलकूदका लागि ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनोट भइसकेका छन् । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिष्पर्धा गर्नेछन् ।
 
व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले सात हजार पाउनेछन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते उद्घाटन र वैशाख ११ गते समापन हुनेछ ।
 
प्रतियोगिताअन्तर्गत कूल ३५ खेलमध्ये बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लििङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यस्तै दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।
 
यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्टटेनिस, लङटेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो ।
Categorized in खेलकुद