STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आठौँ खेलकूदः बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा रु ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन् । नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् । बाँकेमा सबैभन्दा ठूलो लगानीमा नेपालगञ्ज रङ्गशाला निर्माण भएको छ । रङ्गशालाका लागि मात्रै रु २४ करोड बजेट उपलब्ध भएको छ । रु छ करोड लागतमा फुटबल मैदान र रु १८ करोडमा भीआइपी प्यारापिट निर्माण भइरहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताउनुभयो । उहाँका अनुसार, नेपालगञ्ज रङ्गशालामा खेल्नयोग्य मैदानका लागि रु ३६ लाखको बरमुडा दुबो रोपिएको छ । यसले फुटबल मैदान अन्तर्राष्ट्रिय मापदण्डको बनेको छ । रङ्गशाला परिसरमा फुटबल मैदानबाहेक करोडाँैको लगानीमा पौडीपोखरी, सुटिङ रेञ्ज, भारोत्तोलन एकेडेमी निर्माणकार्य भएको छ । रु १४ करोड २८ लाख बजेटमा रङ्गशाला छेउमा पौडी पोखरी निर्माण भएको छ । त्यसैगरी रु एक करोड ५० लाखको लगानीमा सुटिङ रेञ्ज तयारी अवस्थामा पुगेको अध्यक्ष वलीले जानकारी दिनुभयो । नेपालगञ्जकै कारकाँदोमा रु दुई करोडमा जुडो एकेडेमी निर्माण भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेको खजुरा सीतापुरमा रु दुई करोड ५० लाखको लगानीमा भलिबल रङ्गशाला निर्माण भएको छ । यसैगरी कोहलपुरमा रु एक करोड ५० लाखको लगानीमा क्रिकेट खेलमैदान तयार भएको छ । यही मैदानमा बुधबारदेखि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत क्रिकेट खेल भएको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरेर निर्माणाधीन खेलकूद पूर्वाधारमा नेपालको खेलकूद इतिहासमै सबैभन्दा धेरै लगानी भएको बताउनुहुन्छ । सदस्यसचिव विष्टले नेपालगञ्जको इतिहासमै यति ठूलो लगानीमा पहिलोपटक प्रतियोगिता हुन लागेको प्रतिक्रिया दिनुभयो । उहाँले निर्माणाधीन भौतिक पूर्वाधारको निर्माणकार्य अधिकांश सकिएको बताउनुभयो । “भिआइपी प्यारापिटको निर्माणकार्य पूरा हुँदैछ”, सदस्यसचिव विष्टले रासससँग भन्नुभयो, “पछिल्लो प्रगति देखेर हामी निकै हौसिएका छौँ, प्रतियोगिता गर्न अब पूर्वाधार बाधक छैन, यसमा सबैले साथ दिन जरुरी छ ।” उहाँले खेल प्रतियोगिता आयोजना हुने स्थानको शतप्रतिशत पूर्वाधार निर्माण भइसकेको बताउनुभयो ।
Categorized in खेलकुद