Salt Trading
Swasthya Mantralaya
Nhoo dan 1141

आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ११, मंगलबार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक बोलाइएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।

स्रोतका अनुसार संसद पुनस्र्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिक वृत्तसँग छलफल गरिरहेका छन् । विभिन्न दलका नेता र सुरक्षा निकायका प्रमुखसँग पनि प्रधानमन्त्रीले भेट गरेर परामर्श लिएको स्रोतको भनाइ छ ।

‘संसद पुर्नस्थापना भए संकटकाल लगाउने प्रधानमन्त्रीको तयारी छ’, स्रोत भन्छ, ‘त्यसका लागि आफू पक्षीय नेता तथा विपक्षी दलका नेताहरुसँग पनि प्रधानमन्त्रीले परामर्श लिनुभएको छ ।’ त्यसका लागि प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक डाकेकाे जनाइएकाे छ ।

यसअघि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थाप र प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रतिनिधि सभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा भएको यो भेटले राजनीतिमा तरंग ल्याएको छ ।

परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने मंगलबार बिहान डाकिएको बैठक नियमित भएको प्रतिक्रिया दिएका छन् । सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।

Categorized in राजनीति
Newa Online Adv