STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज राति अत्यधिक उल्कावर्षा हुँदै

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २८, बिहिबार

काठमाडौं- मङ्सिर १८ गतेदेखि सुरु मिथुन उल्कावर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।

अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका ससाना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ । 

उल्कावर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा (जेमिनिड मेट्योर शावर) नामकरण गरिएको उनले बताए ।

उल्कावर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बिर खिच्न सक्नेछन् । 

अवलोकनका लागि आज राति ८ बजे देखि शुक्रबार बिहान ५:३० सम्मको समय अनुकुल हुने सोसाइटीले जनाएको छ । 

उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम देखिन्छ। मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेका लागि सन् २०२३ कै उत्कृष्ट समय हुनेछ। उल्कावर्षा हेर्न कुनै दूरबीन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।

सोसाइटीले विज्ञप्तिमार्फत देशभर छरिएर रहेका सदस्य तथा शुभचिन्तक लाई आआफ्ना स्थानमा रहेका नजिकैका खुला स्थानबाट हेर्न र तस्बिर लिन आग्रह गरेको छ । 

सबै अवलोकनकर्तालाई आफ्ना तस्बिर सोसाइटीको कार्यालयमा पठाउन पनि अध्यक्ष भट्टराईले आह्वान गरेका छन् । प्राप्त तस्बिरलाई सोसाइटीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने पनि सोसाइटीको विज्ञप्तिमा उल्लेख छ । 

उल्कावर्षा सम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ । हाल जारी उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहने उनले बताए ।

Categorized in विज्ञान-प्रविधि