STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ३, बुधबार

३ कात्तिक २०७८ - काठमाडौं - केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । आज (बुधबार) पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहान प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकीप्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ ।

प्रदेश–१ का केही र प्रदेश–२, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१ र प्रदेश–२ का थोरै स्थानमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ को एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । भारी वर्षा हुने स्थानमा बाढीको सम्भावना हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेतसमेत गराएको छ ।

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा केही दिनदेखि वर्षा भइरहेको छ ।

Categorized in स्वास्थ्य-मौसम