STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज तराईमा होली

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ४, शुक्रबार

काठमाडौं - रंगहरूको पर्व फागु अर्थात् होली आज तराई र मधेसमा हर्षोल्लासका साथ मनाइँदैछ । हिजाे काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरूमा हाेली खेलिएकाे थियाे । 

तराईमा रङ पिचकारी, अवीरसहित होली खेल्ने गरिन्छ । होली खेल्नेहरू एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्लासम्म पुग्छन् । चोकमा भेला भएर टोलबासीहरू आपसमा रङ लगाउने गर्छन् । कोरोनाका कारण दुई वर्षयता होली मनाउन नपाएका तराईबासी यसवर्ष तामझामका साथ यो पर्व मनाउने तयारीमा छन् ।

हाेलीकाे महत्त्व

आपसमा रंग दलेर खुसी साटासाट गरी मनाइने होली पर्वको आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व छ ।

आसुरी शक्तिकी प्रतीक होलिकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रह्लादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीहरूले नुहाउँदाको प्रसङ्ग तथा कामदेव र रतिको प्रेमकथालगायतका प्रसङ्गहरू होलीसँग जोडिएका छन् ।

यसैगरी, बन्दी बच्चाहरूलाई राक्षस ढुण्डाको पञ्जाबाट मुक्ति दिलाएको अवसरमा फागु खेल्न थालिएको प्रसङ्ग पनि धार्मिक ग्रन्थमा पाइन्छ ।

पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा सत्ययुगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान् विष्णुका भक्त थिए ।

आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुको भक्त बनेको हिरण्यकश्यपुलाई मनपरेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । योजनाअनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएका थिए ।

दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिकादहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर दलेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता छ ।

अर्को एक प्रसङ्गअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंसकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधि चीरदाह गरी होली खेल्ने परम्परा चलेको बताइन्छ । 

होली हिन्दुहरूको अत्यन्त प्राचीन् पर्व हो । इतिहासकारहरूका अनुसार यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्ता प्राचीन् हस्तलिपिहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ ।

भारतमा पर्ने विन्ध्यक्षेत्रको रामगढ भन्ने स्थानमा रहेको इसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

यस पर्वमा चीर ठड्याउने परम्पराका सम्बन्धमा एक लोककथनअनुसार एकपटक यमुना नदीमा गोपिनीहरूको एक समूह निर्वस्त्र नुहाइरहेको थियो । त्यसै बेला भगवान् श्रीकृष्णले उनीहरूका सबै लुगा नदीको किनारमा एउटा रूखको हाँगामा झुण्ड्याई आफू अर्को हाँगामा बसेर बाँसुरी बजाउन थालेका थिए ।

गोपिनीहरूले लुगाका लागि धेरै बिन्ती बिसाउँदा पनि कृष्णले लुगा झारिदिएनन् । बरु उनले भने, ‘निर्वस्त्र नुहाएकोमा प्राय:श्चित गरे मात्र लुगाहरू दिनेछु ।’

त्यसअनुसार गोपिनीहरूले श्रीकृष्णलाई अर्घ्य, जल चढाएर प्राय:श्चित गरेका थिए । त्यसपछि श्रीकृष्णले रूखको हाँगाबाट लुगाहरू झारिदिएका थिए ।

Categorized in राष्ट्रिय