
आजबाट गुंला पर्व सुरू
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १३, शुक्रबार
काठमाडौं - काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंला पर्व’ आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले धुमधामका साथ यो पर्व मनाउने गर्छन् । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरूका आफन्तले एक महिनासम्म आफ्नो घरनजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
नेपालभाषाकाे प्राचीन हस्तलिखित ग्रन्थहरूमा रहेकाे गुणीला शब्दबाट गुंला शब्द आएकाे हाे । गुणपूर्ण महिनाकाे रूपमा गुंला महिनालाई लिइन्छ ।
नेपालभाषामा ‘गू'को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रूपमा लिइएको छ । नेपाल संवत्काे नौ महिनापछि आउने पर्ने याे पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गरेका छन् ।
धर्म सञ्चय गर्ने महिनाका रूपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ । भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।
नेवार समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखिं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।
प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने मेला भर्न काठमाडौं तथा आसपासका क्षेत्रबाट सर्वसाधारण आउने गर्छन् । याे पर्व कहिलेदेखि सुरु भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिककालदेखि नै अभ्यासमा रहेको जनविश्वास छ ।
Categorized in उपत्यका