आजदेखि चुनावी सभा र जुलुस गर्न पाउने
Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १७, बिहिबार
काठमाडाैं- प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले आजदेखि चुनावी सभा, जुलुस लगायतका ठूला कार्यक्रम गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आजदेखि मंसीर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलुस, कोणसभा जस्ता कार्यक्रम गर्न पाउने व्यवस्था गरेको हाे।
यस्ता कार्यक्रम गर्दा पनि निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्ड पालना गर्नुपर्ने आयोगले जनाएको छ। एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भ्रातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलूस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने र सो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गर्नुपर्ने।
जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि स्थानीय प्रशासन र प्रहरीलाई त्यसको मिति, समय, मार्ग र स्थानबारे जानकारी गराउनुपर्नेछ।
जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न पाइने छैन ।
जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने। दल वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन पाइने छैन ।
त्यस्तै, कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन पाइँदैन ।
निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने छन्।
Categorized in राजनीति

