STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आगलागीमा चार बालबालिकाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १०, शनिबार

काठमाडौं- आगलागीमा परेर जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँका चार जना बालबालिकाको मृत्यु भएको छ । तीन जना बेहोस अवस्थामा भेटिएका छन् ।

आगलागी शुक्रबार राति ११ः४५ बजेतिर भएको हो । आगलागीमा परेर मानसिं सार्कीका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो ।

आगोले सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश तथा भान्जी १४ वर्षीया तिर्सना सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चारै जना बालबालिकाको शव पोस्टमार्टमका लागि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रहरीका अनुसार आगलागीका कारण मानसिं, उनकी श्रीमती फागुनी र बहिनी रुन्चकली बेहोस भएका छन् । उनीहरुलाई उपचारका लागि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमै लगिएको छ । उनीहरुको अवस्थाका बारेमा थप विवरण प्राप्त हुन बाँकी छ ।

जुम्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार आगलागीको जानकारी पाउनसाथ नियन्त्रणका लागि टोली परिचालन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंसहितको टोली घटनास्थल पुगेको थियो । आगोले घरको दोस्रो र तेस्रो तलामा पूर्ण रूपले क्षति पुगेको छ ।

डिएसपी चन्दले आगलागीको कारण पत्ता लाग्न नसकेको बताए । ‘कसरी आगलागी भयो भनेर यकिन गर्न गाह्रो परिरहेको छ,’ उनले भने, ‘विभिन्न कोणबाट घटनाको अनुसन्धान जारी राखेका छौँ ।’

Categorized in अपराध-दुर्घटना