STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आगजनीको अभियोगमा पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्ने रत्ननगरको गणेश चोकका कुलप्रसाद लामिछाने हुन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछानेलाई पक्राउ गरिएको हो । भिडियोमा पहिचान खुलेका अन्य पाँच जनाको खोजी भइरहेको उहाँले बताउनुभयो । सो घटनामा ३० जना संलग्न भएको देखिएको प्रहरीले जनाएको छ । रेग्मीले ती तस्बीर भिडाएर नाम पहिचान गरी दोषीलाई नियन्त्रणमा लिइने जानकारी दिनुभयो । घटना भएकै दिन प्रहरीले सौराहास्थित रेष्टुरेन्ट एण्ड बार एशोशिएसनका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको थियो । सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीले गिरीसहित उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनालगायत बिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब रु चार लाखसमेत लुटिएकाले उजुरी गरेको बताउनुभयो । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते हुनुभएको छ । खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । केन्द्र हटाउनुपर्ने माग गर्दै आएका पूर्वी चितवनका सर्वसाधारणले पेट्रोल छर्केर दस्तुर सङ्कलन केन्द्रमा आगजनी गरेका थिए ।
Categorized in अपराध-दुर्घटना