STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आखिर शंखधर पनि देउटै भएछ !

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २२, शुक्रबार

नेपालको मौलिक संवत् नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः ११४० वर्ष अगाडि ताकाका एक सर्वसाधारण नेपाली नागरिक थिए । उहाँले त्यसताका जनताको ऋणमोचन गरेर नेपाल संवत् चलाएको भन्ने इतिहास छ । मल्लकालमा त यो नेपाल संवत् राष्ट्रिय संवतकै रुपमा प्रचलित थियो । जब गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा उपत्यकाका बाइसे चौविसे राज्य आफ्नो कब्जामा लिइसकेपछि उपत्यकाका आदिवासी जनजातिहरुलाई कुकुर सरहको ब्यवहार गरी आफ्नो पैताला मुनि राखेर राज्य सत्ता संचालन गरेको इतिहास छ, अहिलेको शासनमा पनि कायमै छ । नेपाल संवतको सन्दर्भमा, नेपाल अधिराज्य विजयी पछि आदिवासी जनजातिहरुलाई दबाउने क्रममा उपत्यकामा बाहुल्यता भएको राज्य नेवाः राज्य नेवार समुदायको थियो । मल्ल राजाहरु पनि नेवार नै भएर गएको र त्यो बेला राष्ट्रिय भाषा नेपालभाषा र राष्ट्रिय संवत नेपाल संवत नै कायम भइरहेको थियो । पृथ्वीनारायण शाहले जब नेवारहरुलाई आफ्नो शत्रुको दर्जामा राखेर जातियतालाई दबाउन सुरु गरे, तब जाति दबियो, भाषा दबियो, जाति र भाषासंगसंगै नेपाल संवतलाई पनि सुस्तरी सुस्तरी पराईताको नजरले हेरिदै आयो । कारण नेवार जाति एवं आदिवासी जनजाति गोरखे खस राजा पृथ्वीनारायण शाहको लागि शत्रु थियो । शत्रुले प्रयोग गरिने सम्पूर्ण पक्ष नष्ट गरी आफ्नो हैकम चलाउने सूरमा थियो पृथ्वीनारायण र त्यसपछि भएका राजाहरु सब । हुँदाहुँदै राणा शासन निम्तियो । राणा शासनमा त जनताको लागि पढ्ने अधिकार समेतमा पनि बन्देज भएका थिए । राणाकालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालासम्म त सरकारीस्तर देखि जनस्तरसम्म जसोतसो नेपाल संवत नै कायम थियो । तर ३ वर्षमा एकचोटी आउने मनमासका कारण ३ वर्षमा १ महिना ‘अनला’को रुपमा थप भई १३ महिना हुने भइन्थ्यो र कर्मचारीहरुलाई ३ वर्षमा १ महिनाको तलब सिट्टैमा खुवाउँनु पर्ने बाध्यता देखाई राणा प्रधानमन्त्री चन्द्र शम्शेरले नेपाल संवत बन्द गराई भारतीय संवत विक्रम संवतलाई सरकारी कामकाजको प्रयोगमा ल्याइयो । यसबाट नेपालको मौलिक संवत नेपाल संवत झन् कालो अध्यारो निराशताको भुँमरीमा पिल्सिन पुग्यो । त्यो बेलादेखि नै नेपाल संवतलाई आफ्नो ठान्ने र नेपालकै मौलिक संवतको रुपमा परिभाषित गर्ने नेवार समुदायले नेपाल संवतलाई सरकारले उपेक्षित गरेकोले आन्दोलनको रुपमा विस्तारै पाईला चाल्दै आएका थिए । यस सन्दर्भमा देशब्यापी रुपमा ने.सं. ११०० देखि नेपाल संवतलाई राष्ट्रिय मान्यता दिनु पर्छ भन्दै आन्दोलनको रुपमा नेपाल संवतको नयाँ वर्षलाई सांस्कृतिक ¥यालीको रुपमा अगाडि बढाएका थिए । राज्यले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता पनि दिएको छ र नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता पनि दिइसकेको छ । तर पनि नेपाल संवतलाई सरकारले राष्ट्रियस्तरबाट राष्ट्रिय संवतको रुपमा प्रयोगमा ल्याइएको देखिदैन । नेपाल संवतको नयाँ वर्षको सांस्कृतिक ¥याली आन्दोलनकै रुपमा प्रचलित भइरहेको अवस्थामा विगत केही वर्षदेखि नेपाल संवतको सांस्कृतिक ¥याली परम्परा र संस्कृतिको रुपमा विकसित हुँदै आइरहेको हामी महसुस गर्न सक्छौं । वर्षदिनमा एकचोटी आउने जात्रा पर्व जस्तै सांस्कृतिक ¥याली निकाल्दै शंखधरको मूर्तिलाई जात्राको रुपमा गाउँ शहर नगर परिक्रमा गराउने प्रचलन चलिसकेको छ । यो पक्ष एक हिसाबले सकारात्मक रुपमा स्वीकार गर्न सक्छौं भने अर्को पक्षलाई नियाल्ने हो भने नेपाल संवत र शंखधर साख्वाःलाई वर्षको एकदिन मात्र सम्झने परम्पराले नेपाल संवत र नेपाल संवतका प्रवर्तक शंखधर राज्यस्तरको नजरमा ओझेलमा परिसकेको आभास पनि गर्न सक्छौं । राज्यस्तरले राष्ट्रिय संवतको रुपमा मान्यता दिइसकेको अवस्थामा र शंखधरलाई राष्ट्रिय विभूतिको मान्यता दिइसकेको अवस्थामा मात्र बर्षको एकदिनको सांस्कृतिक ¥यालीले कदापी नेपाल संवत राष्ट्रिय संवतमा परिणत हुन सक्दैन । नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको योगदानलाई हामी नेपालीले कदर गरेको नभई शंखधरको खिल्ली उडाएको भान हुन आउँछ । आजका पुस्ताले शंखधर साख्वाःलाई एक देउटाको रुपमा हेर्न थालिसकेको छ । कारण, नेपाल संवतका आन्दोलित अगुवाहरुले आजका पुस्तालाई नेपाल संवत र प्रवर्तक शंखधर साख्वाःको परिचय र योगदान र महत्वको ज्ञान छर्न नसकेकोले नै हो भन्न बाध्य हुन्छ । त्यसैले हामी भन्न सक्छौं कि शंखधर पनि देउटै भएछ ।
Categorized in विचार