STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउने : स्वास्थ्य मन्त्रालय

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ११, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १५ देखि कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ ।

सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदनमा आगामी असोज १५ देखि तेस्रो लहर आउन सक्ने उल्लेख छ ।  

‘कोभिड-१९ को वर्तमान अवस्था तथा संक्रमणदरलाई हेर्दा तेस्रो लहर सम्भवत: असोज १५ देखि मंसिर महिनाको बीचमा फेरि आउन सक्छ । यद्यपि भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यको आधारभूत मापदण्ड पालनाको स्तरले यसलाई अगाडि पछाडि धकेल्न सक्दछ,’ मन्त्रालयले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

६० प्रतिशत नागरिकलाई खोप लगाउन सकिएमा रोगको नियन्त्रण र सामाजिक तथा आर्थिक गतिविधिहरू सुचारु गर्न सकिने मन्त्रालयले जनाएको छ । हाल भने संक्रमण घट्दै गएकाले जोखिम रहेको ठाउँमा मात्र लकडाउन र पुन: निषेधाज्ञा लगाउनु पर्ने मन्त्रालयले सुझाव दिएको छ ।

हालको स्थिर अवस्थालाइ हेर्दा आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमितहरू थपिने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । जसमा ३८ हजार ७ सय ७१ जना संक्रमितहरूलाई अस्पताल भर्ना गरी उपचार गर्नु पर्ने र सोमध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने उल्लेख छ।

समितिको बैठकमा संसादहरूले तेस्रो लहरको जोखिमलाई ध्यान दिएर तत्काल तयारी थाल्न मन्त्रालयलाई सुझाव दिएको समिति सभापति जयपुरी घर्तीले बताइन् । कोरोना नियन्त्रण र अहिलेको अवस्थाबारे बुझ्न समितिले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई बैठकमा बोलाएको हो ।

Categorized in स्वास्थ्य-मौसम