STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

अर्ग्यानिक स्वादको खुस्मा हेर्न हलमा पुगे पूर्व उपराष्ट्रपति

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन ७, सोमबार

गणतान्त्रिक नेपालको संविधान दिवसको दिन पारेर बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको यसका वितरकले जनाएका छन्। प्राप्त जानकारी अनुसार यो चलचित्रले पहिलो तीन दिनमा करिब साढे दुई करोडको ग्रस कलेक्सन गरेको छ र कलेक्सनबारे रिपोर्ट सार्वजनिक गर्ने तयारी निर्माण पक्षले गरेको छ । सफलताको  शिखर चढिरहेको यो चलचित्र अवलोकन गर्न पूर्व उप राष्ट्रपति नन्दबहादुर पुन लगायतका व्यक्तिहरुको विशेष उपस्थितिमा अाइतबार नयाँ बानेश्वरको वन सिनेमाज मा विशेष शो सम्पन्न गरिएको छ ।

सो कार्यक्रममा जानकारी दिइए अनुसार चलचित्रको बिहीबारको पहिलो शो हाउसफुल रहनुका साथै दिउँसोपछि दर्शकको चाप उल्लेखनीय रूपमा बढेको थियो। यद्यपि, शुक्रवारको व्यापारमा केही गिरावट आएको भए पनि शनिवार पुनः राम्रो अकुपेन्सी देखिएको थियो। शनिवार बिहानको शोमा ५० प्रतिशत अकुपेन्सी देखिए पनि दिउँसोका शोहरूमा ८० देखि १०० प्रतिशतसम्मको अकुपेन्सी भएको वितरक गोविन्द शाहीले बताएका छन्। शाहीका अनुसार आइतबार पनि चलचित्रको व्यापार सन्तोषजनक छ।

वितरक शाहीका अनुसार ‘खुस्मा’ले काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा गजबको व्यापार गरेको छ। यो चलचित्र पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, विराटनगर, धरान, इटहरी, दमक, र बिर्तामोडजस्ता सहरमा बिहानी शोहरू हाउसफुल भएको थियो। काठमाडौं उपत्यकामा भने दिउँसोका शोहरूमा दर्शकको चाप बढी देखिएको छ। चलचित्रका प्रमुख कलाकार धिरज मगर र उपासना सिंह ठकुरीले विभिन्न हलमा पुगेर दर्शकहरूसँग साक्षात्कार गरेका थिए, जसले गर्दा चलचित्रप्रति दर्शकहरूको उत्साह अझै बढेको छ।

धिरजले दर्शकको माया र समर्थनप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘काठमाडौंसहित विभिन्न स्थानमा तेस्रो दिन पनि हाउसफुल भएको खबरले म निकै उत्साहित छु। दर्शकहरूले हाम्रो चलचित्रलाई अत्यधिक रुचाइरहनुभएको छ, जसले हामीलाई थप प्रेरित गरेको छ।’ अभिनेत्री उपासना सिंह ठकुरीले पनि दर्शकबाट अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएकोमा खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘दर्शकहरूले कथा भन्ने हाम्रो प्रयासलाई अत्यधिक रुचाउनुभएको छ, जसले हामीलाई धेरै खुसी दिएको छ। कतिपय दर्शकहरूले सिक्वेल चाहिने अनुरोधसमेत गर्नुभएको छ।’

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन्। यो उनको पहिलो ठुलो पर्दाको निर्देशन हो, यद्यपि उनी यसअघि विभिन्न डकुमेन्ट्री फिल्महरू लेखन तथा निर्देशन गरी ९ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा पुरस्कार जितिसकेका छन्। चलचित्रको निर्माणमा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर संलग्न छन् भने सुस्मिता बुढाथोकी सह-निर्माताको भूमिकामा छिन्।

चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका छन्। यसअघि सार्वजनिक गरिएका गीत र टिजरले पनि राम्रो प्रतिक्रिया पाइसकेका छन्। ‘खुस्मा’मा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, र अन्य कलाकारहरूको अभिनय रहेको छ। जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको प्रेमकथामा आधारित यस चलचित्रले मगर समुदायको परिवेशलाई प्रस्तुत गरेको छ।

चलचित्रको सङ्गीत एसडी योगी र कोरियन सङ्गीतकार छान्जु पार्कले दिएका छन् भने गीत रचना सुरेन्द्र राना, राम अविरल बिस्ट र निर्देशक थापाले गरेका हुन्। चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुबेर सिने डिष्ट्रीव्युसनले गरेका छन्।

Categorized in सिनेमा